free website hit counter

ज्योति विकास बैंकले बोनस सेयर पारित गर्दै थप्यो पाँच जना सञ्चालक

beemaadmin
२०७७ माघ १६, शुक्रबार

काठमाडौं । ज्योति विकास बैंकको प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित गरेको छ । माघ १४ गते सम्पन्न बैंकको १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितको उक्त प्रस्तावलाई पारित गरेको हो ।सभाले पारित गरेसँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । यससँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रूपैयाँ नाघेको छ ।
सभाले बैंकको आर्थिक वर्ष २०७६र७७को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, साधारण सभाले ज्योति विकास बैंकको सञ्चालक समितिमा ५ जनालाई निर्विरोध निर्वाचित गरेको छ । बैंकले संस्थापक सेयरधनी समुहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।
बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६र७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सभा बुधवार भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको छ । कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारणसभामा अनलाइन प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो ।
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ४६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २३ हजार भन्दा बढि ऋणीलाई करिब ३७ अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।

सम्बन्धित समाचार