काठमाडौं । उमेरका आधारमा जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) लिमिटेडले स्थापनाकालदेखि कार्यकारी प्रमुखको भूमिकामा काम गरेका एकसे टमोटले बिदा लिएका छन् । उनको अवकाससँगै कम्पनीले कामु महाप्रबन्धकको जिम्मेवारी विनेश मास्केलाई दिए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नयाँ व्यक्ति ल्याउने तयारी भइरहेको बताइएको छ । कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा रामचन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।
जनरल इन्स्योरेन्स कम्पनीमा जाने निश्चित भएपछि श्रेष्ठले माघ २५ गते लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा राजीनामा दिएका छन् । तर उनको राजीनामा स्वीकृत हुन बाँकी रहेको छ । श्रेष्ठ लुम्बिनीमा पनि नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । जनरल इन्स्योरेन्स कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत पाउने गरी श्रेष्ठ जान तयार भएका हुन् ।
बीमा कम्पनीको उच्च तहका पदाधिकारीलाई एक महिनाको कुलिङ पिरेड लाग्ने भएकोले श्रेष्ठलाई जनरलमा हाजिर हुन एक महिना भन्दा बढी समय लाग्नेछ ।
त्यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा भने चन्द्रसिंह साउदलाई ल्याउने तयारी गरेको बताइएको छ । स्रोतका अनुसार आगामी कात्तिकदेखि जनरल इन्स्योरेन्सको सीईओमा साउदलाई ल्याउन सञ्चालक समिति तयार भएको छ भने साउद पनि सीईओ बन्न सहमत भएका छन् । नेप्सेमा उनको कार्यकाल असोज तेस्रो साता सकिँदैछ । साउद हाल नेपाल स्टक एक्स्चेञ्जमा महाप्रबन्धक छन् । तर उनी बीमा क्षेत्रको अनुभवी व्यक्ति हुन् ।