free website hit counter

सेयर बजारमा देखिएको रौनक

beemaadmin
२०७७ फाल्गुन २१, शुक्रबार
  • सरोज अधिकारी

सेयर बजार नै अनिश्चितताको बजार हो । उच्च बढोत्तरी पश्चात् ओरालो लाग्न थालेको बजार केही समय अझै ओरालो लाग्ने हो वा कुनै विन्दूबाट फर्किने हो भन्ने विविध तर्क हुन थालेको छ । बजारमा रौनक छाएको छ । बजारको अबको यात्रा कता भन्ने विषयमा चर्को बहस सुरु भएको छ । लामो समयदेखि ओरालो लागेको बजार साताको अन्तिम दिन भने उच्च अङ्कको बढोत्तरी सहित पुन उकालो लागेको छ । अब बजारमा उच्च गिरावट पश्चात् केही बढोत्तरी सहित यात्रा भने ओरालो तर्फकै हो वा माथि जाने हो भन्ने सुनिश्चितता छैन । आगामी दिन राजनीतिक बृत्तमा त्यति सहज भने छैन । राजनीतिक क्षेत्रमा देखिने अन्योललाई लगानीकर्ताले कसरी ब्याख्या गर्छन त्यसैमा अबको बजार लगानीकर्ताको मनोबलले कता जाने हो भने सुनिश्चित हुने देखिन्छ ।

जसले झण्डै दुई सय पचास अङ्कको गिरावट आइसकेको बजारमा आशालाग्दो बढोत्तरी पनि देखिएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकाङ्कमा ९० दशमलब ६७ अङ्कको बढोत्तरी सहित सूचकाङ्क २५०६.६८ को बिन्दूमा उक्लिएको छ ।

नेपाली सेयर बजार बुलिस यात्रामा नै अघि बढेको कुरा सबै झै विश्लेषकहरुले स्वीकारेको अवस्था भए तापनि हाल नेप्सेमा छोटो समयमा देखिएको बढोत्तरी सुन्निएको हो वा मोटाएको हो भन्ने विषयमा भने मतान्तर पाइन्छ ।

कोभिड –१९ को लकडाउन पछि अर्थतन्त्र चलायमान हुन थालेको छ । खोपको उपलब्धिताका कारण जनतामा विश्वास बढेको छ । व्यवसाय पुन व्युतिने प्रयास गर्दैछ । पर्यटन यातायात व्यवसाय जस्ता थुप्रै व्यवसाय अझै खस्ता हालतमा रहेको भए तापनि अन्य व्यवसायहरुमा कर्जाको माग बढन थालेको छ । जसले गर्दा कतिपय बैंक वित्तीय सस्थाको निक्षेप कर्जा अनुपात उच्च विन्दूमा पुगेको छ भने तरलताको अभाव सिर्जना हुने वा व्याजदर बृध्दि हुने हल्ला पनि चल्न थालेको छ ।

बुलिस यात्रामा रहेको नेपाली सेयर बजाको विगतलाई हेर्दा झण्डै पाँच बर्षमा उच्च बिन्दूमा पुग्ने गरेको अवस्था भए तापनि कोभिड पश्चात भने छोटो समयमा नै नयाँ उचाइ छोएकोले त्यसमा केही करेक्सन आवश्यक नै देखिएको थियो । बजार लगानीकर्ताको बाक्लो उपस्थितिले गर्दा सामान्य करेक्सनमा नै बजार पुन उकालो यात्रामा लागेको हो वा अझै करेक्सन चाहिने हो सो भने आइतबार पश्चात् नै बजारले कस्तो रुप लिने हो हेर्न बाँकी छ ।

नेपाली सेयर बजार जता गए पनि बजारमा कारोबार हुने सेयर समूहको सरसर्ती अध्ययन गर्दा भने कतिपय सेयरको बजार मूल्य प्रतिफल दिनेको तुलनामा निकै माथि देखिन्छ । उदाहरणका लागि साल्ट ट्रेडिङको मूल्यमा उच्च सुधार सहित एक कित्ताको दस हजार दुई सय रुपियाँ नाघिसकेको छ । त्यसैगरी चन्द्रागिरी हिल्सको सेयर मूल्य आजपनि १० प्रतिशतले बढने क्रम जारी छ जबकी कम्पनीको आर्थिक विबरणमा घाटा देखिएको छ । त्यसैगरी विद्युत उत्पादन नै नभएको हिमालयन पावर पार्टनरको मूल्य बढ्दो । घाटामा रहेको होटलहरुको बजार मूल्य उच्च रहनु ।

४० प्रतिशत मात्र नगद लाभांश दिने नेपाल टेलिकमको मूल्य एक हजार दुई सयभन्दा माथि हुनु, कुनै प्रतिफल नबाढने निर्णय गरेको एसियन लाइफको मूल्य एक हजारभन्दा माथि हुनु, कामै सुरु नगरेको निफ्राको मूल्य पाँच सयभन्दा माथि हुनुले बजारमा कतिपय सेयरको मूल्य सुन्निएको अवस्थामा छ भन्ने स्पस्ट भएको छ । तसर्थ हालको बजार कता जाने हो भन्दा पनि बजारमा घोडा, गधा, कुकुर र अन्य सबै जनाबर दौडिएको झै भान भएको सन्दर्भमा लगानीकर्ताले घोडा चिनेर लामो समयसम्मका लागि लगानी गर्न सक्नेले नै जित्ने निश्चित छ । त्यसका लागि प्राविधिक विश्लेषणका अतिरिक्त आधारभूत विश्लेषणलाई समेत ध्यानमा राख्दै कम्पनीको आर्थिक स्वास्थ्यको राम्रो अध्ययन पश्चात मात्र लगानि गर्नु उपयुक्त हुने देखिन्छ ।

साताको अन्तिम दिन बजारमा बढोत्तरी देखिएको भए तापनि आगामी केही हप्ता बजारमा करेक्सन आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिदैन । बजारको उतारचढावका माझ बजारमा छिरेका नयाँ लगानीकर्ता हुनु वा पुराना घैर्य निकै कम भएको, सामाजिक सञ्जालमा प्रयोग हुने भाषा शैली सिष्ट नभएको जस्ता पोस्टहरु देखिन्छन ।

कुनै व्यक्ति समूह वा सस्थाले पस्केको आधारमूल तथा प्राविधिक विश्लेषणलाई मान्नु पर्छ भन्ने होइन । कुनै पनि विश्लेषणभन्दा अघि विश्लेषणकर्ताले आफ्नो विश्लेषण लगानीका लागि नभएर अध्ययनका लागि मात्र हो भन्ने कुरा पनि स्पस्ट परेको हुन्छ । तसर्थ सेयरमा गरेको हरेक लगानीको जिम्मेवारी लगानीकर्ता स्वयमले लिनुपर्ने देखिन्छ ।

बजारमा तरलताको कमी राजनीतिक अन्योल र बजार बढोत्तरीको तुलनामा मुलुकको आर्थिक परिसूचकाङ्कहरुको अवस्था सन्तोषजनक नहुनुले पनि बजारमा केही करेक्सन निश्चित थियो । त्यस्तो करेक्सनले नेप्से दुई हजारको हाराहारीमा ल्याउने अनुमान गरिएको थियो । अब त्यस्तो करेक्सन सकिएको हो वा अझै बाँकी छ सो भने समयले देखाउने कुरो हो । लगानीकर्ताका लागि राम्रो अबसर भनेको अहिलेको बजारमा भविष्यमा राम्रो प्रतिफल दिनसक्ने कम्पनीको पहिचान नै प्रमुख भएको छ ।

सम्बन्धित समाचार