free website hit counter

कुर्सीको युद्धमा अक्सिजनको के महत्त्व ?

beemaadmin
२०७८ बैशाख २९, बुधबार
  • नारायण गाउँले
साह्रै दुःखलाग्दो कुरा के छ भने नेपालमा हालसम्म कोभिड़बाट भएका धेरैजसो मृत्युहरू बचाउन सकिने प्रकृतिका छन् ।
पछिल्ला धेरै मृत्यु त चारैतिर गुहार्दा समेत अक्सिजन नपाएर, आइसियुमा बेड र भेन्टिलेटर नपाएर अनि एम्बुलेन्समा घुम्दाघुम्दै ओर्लिने हस्पिटल नपाएर भएका छन् । सिकिस्त भएर हस्पिटल पुग्दासमेत कोरोना टेस्ट गर्ने लामो लाइन लाग्दा लाग्दै मान्छे ढलेका घटना कत्ति पनि सामान्य होइनन् । आइसियुमा भएका बिरामीलाई समेत अक्सिजनको व्यवस्था आफै गर भन्ने स्थिति कति दयनीय होला !
यी त शहर र सामाजिक सञ्जालको पहुँचका कुरा भए, देशको अधिकांश भागमा डाक्टर छैनन्, अस्पताल र अक्सिजन छैनन् । तिनको कथा लेख्नेहरू पनि छैनन् ।
सरकारले व्यापक परीक्षण र उपचार गर्दागर्दै, महिनौंदेखि पूर्वाधार र क्षमता वृद्धि गर्दागर्दै र सम्पूर्ण साधनस्रोत प्रयोग गर्दागर्दै केही नलागेर भएका मृत्यु पनि होइनन् यी । सरकारको प्राथमिकता अझै पनि सिंहदरबारबाहिर निस्किन सकेको छैन । भारतमा अक्सिजन अभावको खबर आउँदै गर्दा हामी पत्रकार सम्मेलन गरेर पर्याप्त स्टक रहेको दाबी गर्न व्यस्त रह्यौं । यस्तो सङ्गीन जनस्वास्थ्यको सङ्कटमा सरकारले हात उठाउनु हाम्रो पुस्ताका लागि नै लज्जाको विषय पनि हो ।
यतिबेला कुनै पनि हस्पिटल पुग्नुभो र आधा घण्टा बिताउनुभो भने या नजिकको आफन्तलाई हस्पिटल लैजानै पर्ने अवस्था आयो भने स्थिति कति भयावह छ भन्ने थाहा हुन्छ । सिस्टम पूरै कोल्याप्स्ड छ । यद्यपि सरकारी भाषण र कागजमा हस्पिटल पनि छन्, बेड पनि छ र अक्सिजनदेखि भेन्टिलेटरसम्मको पर्याप्त व्यवस्था छ । स्थिति नियन्त्रणभित्रै छ ।
सरकार परिवर्तनको माहोल छ । तर कुनै पनि दलले बचाउन सकिने मान्छे मरेको घटनालाई इश्यु बनाएका छैनन् । यो महामारीलाई नियन्त्रण गर्ने मास्टरप्लान देखाएका छैनन् । हस्पिटलको दैलोमा पुगेर पनि उपचार नपाई बोरामा पोको पारेर ट्याक्टरमा शव घर लैजान पर्ने अवस्थाप्रति दुःख व्यक्त गरेका छैनन् । माफी मागेका छैनन् । राजनीति यतिसम्म दुर्गन्धित नबन्नुपर्ने हो ।
हो, यतिबेला मृत्युको ताण्डव पक्कै पनि नेपालमा मात्र होइन, विश्वभर फैलिएको छ तर उपचारको मुखै देख्न नपाई भएको मृत्यु र हप्तौंसम्मको उपचारपछि केही नलागेर हुने मृत्यु एउटै होइन । भाइरसको यतिबेला सबैभन्दा ठूलो र सस्तो उपचार अक्सिजन-सपोर्ट नै हो । शरीरले रोगी फोक्सो बोकेर भाइरसलाई परास्त नगरुन्जेल शरीरमा अक्सिजन कमी हुन नदिने हो भने धेरैलाई बचाउन सकिन्छ ।
अक्सिजनले बचाउन सकिने केही ज्यान न हो, तर हामीलाई चाहिएको कुर्सी हो । कुर्सीको युद्धमा अक्सिजनको के महत्त्व ? फेसबुकबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार