free website hit counter

के हाे कृप्टो-करेन्सी

beemaadmin
२०७८ कार्तिक ३, बुधबार
  • नारायण अधिकारी
समय क्रममा विभिन्न कुराहरुको साथै पैसाको पनि बिकास हुँदै आएको छ । कुनै समयमा ढुँगालाई समेत पैसा (बस्तु वा सेवा विनिमयको साधन) को रूपमा प्रयोग गरिन्थ्यो । पैसालाई सजिलो बनाउने क्रममा ढुँगाबाट धातुका सिक्का हुँदै कागजी नोटको बिकास भयो, जुन आज सँसारभरी प्रयोग गरिन्छ । चीनमा ७ औँ शताब्दीदेखि नै प्रचलनमा आएको मानिएको कागजी पैसा प्रयोग गर्न सजिलो भएकै कारण २१ औँ शताब्दीसम्म पनि विश्वभर प्रयोग भैरहेको छ । तथापि, संसारभर प्रचलित मुद्रा (Fiat currency) को पनि धेरै कमजोरी, त्रुटी र विकृतीहरू देखा पर्न थालेका छन् । कागजी पैसाको आफ्नै खरावी भने होइन, मानिसको अज्ञानता, स्वार्थ एवम् दुरूपयोगको कारण नै त्यस्तो अवस्था उत्पन्न भएको हो । मानिस आँफैले समस्याको सृजना गर्छ र उसैले उक्त समस्याको समाधानको उपाय पनि पहिल्याउँछ । कृप्टो-करेन्सीको आविष्कार पनि त्यसैको परिणती हो । कागजी पैसाको तुलनामा कृप्टो-करेन्सी किन बढी उत्तम र उपयोगी हुन्छ भन्ने कुरा बुझ्न मुद्राका आधारभूत विशेषता वा मापदण्डहरूबारे जान्न जरूरी हुन्छ ।
उत्कृष्ठ मुद्रा बन्न तल उल्लेखित ७ वटा विशेषताहरू हुनुपर्छ ।
१. दुर्लभता (Scarcity) २. टिकाउपना (Durability) ३. एकबाट अर्को ठाउँमा सजिलै सार्न वा लैजान सकिने ( Portability) ४. साना भन्दा साना इकाइहरूमा विभाजन वा टुक्रा गर्न सकिने (Divisibility) ५. सजिलै साटफेर गर्न सकिने (Fungibility) ६. एकरूपता (Uniformity) ७. स्विकार्यता (Acceptability)
यि विशेषताहरू मध्ये पहिलो ६ वटा विशेषताहरू कागजी नोटको भन्दा कृप्टोमुद्राको उच्चस्तरको हुन्छ । कृप्टोमुद्रा नयाँँ भएकोले आम-मानिसमा यसको स्विकार्यतामा कमी देखिएको मात्र हो । समयसँगै यसको स्विकार्यता र प्रयोग पनि अवश्य व्यापक बन्दै जानेछ । कृप्टो-करेन्सीको सुन्दर भविश्यबारे जानेर र बुझेर नै त मानिसहरू आजकाल एउटा बिटक्वाइन (संसारकै पहिलो मूल्यवान कृप्टो-करेन्सी ) लाई हजारौँ डलर तिरेर किन्दै छन् । आज एउटा बिटक्वाइन झण्डै ६४ हजार डलरमा किनबेच भैरहेको छ ।
कागजी नोटको दुरुपयोगद्वारा जन्मिएका समस्याहरूलाई समाधान गर्न नै कृप्टो-करेन्सीको जन्म भएको हो । कागजी पैसाको पहिलो समस्या भनेको – यसको अन्तरराष्ट्रिय रूपमा एकरूपता नहुनु हो, जस्तै: अमेरीकि डलर, पाउण्ड स्टर्लिङ, नेपाली रूपैयाँ, आदी । ती पैसाहरूको मूल्य समान छैन र सजिलैसँग साटफेर गर्न र एक ठाउँबाट अर्को ठाउँमा पठाउन सकिँदैन । त्यसको लागि बैंक लगायत आर्थिक सँस्थाहरूको जरूरत पर्दछ । ती मध्यस्थकर्ता (Intermediary) हरूलाई महँगो शुल्क तिर्नु पर्दछ । कृप्टोमुद्रा डिजिटल (विध्युतिय) पैसा भएकोले संसारभर यसको एकरूपता हुन्छ । उदाहरणको लागि, बिटक्वाइन नेपालको र अमेरिकाको फरक हुँदैन, एउटै हुन्छ । यसलाई एक ठाउँबाट अर्को ठाउँमा बैंक विना नै छिट्टै र सजिलै पठाउन सकिन्छ । त्यसको लागि शून्य वा निकै थोरै शुल्क तिर्नुपर्ने हुन्छ । कृप्टो-करेन्सी वास्तवमा सिमा-विहिन मुद्रा (Borderless money) हो । यो कुनैपनि देश वा राष्ट्रियतासँग सम्बन्धित हुँदैन । यो विश्वव्यापी पैसा हो । त्यसैले यसलाई नागरिकको पैसा (People’s money) पनि भन्ने गरिन्छ ।
हिजोआज अमेरिका लगायतका देशहरूले आँफु खुशी मुद्रा छाप्न थालेकाले पैसाको ठूलो अवमूल्यन भैरहेको छ । वस्तु तथा सेवाको मूल्य आकासिएको छ, अर्थात् मुद्रा-स्फृती कहाली लाग्दो रूपमा बढेको छ । मानिसहरूको पैसाको क्षयिकरण भैरहेको छ । फलस्वरूप, थोरै बस्तु खरिद गर्न पनि धेरै पैसाको आवश्यकता पर्न थालेको छ । बाँच्नको लागि धेरै पैसा कमाउनुपर्ने वाध्यता भएकोले मानिसहरूले धेरै समय पैसाकैलागि काम गर्नु पर्ने र उनीहरूको जीवन दिनानुदिन कष्टपूर्ण बन्दै गएको छ । धनी र गरीव बिचको खाडल बढ्दै गएको छ । मानसिक रोगीहरूको सँख्या दिनप्रतिदिन बढ्दै छ । समाज अशान्त बन्दै छ । त्यसैले मुद्रा-स्फृतीलाई सरकारद्वारा गरिने वैधानिक चोरी, डकैती वा आर्थिक अपराध हो भन्ने समेत गरिन्छ ।
अर्को महत्त्वपूर्ण कुरा, कृप्टो-करेन्सी कागजी पैसालाई जसरी “मनलाग्दी” छाप्न वा कम्प्युटर मार्फत उत्खनन् (Mining ) गर्न सकिँदैन । यसलाई निश्चित संख्यामा मात्रै उत्खनन् गर्न सकिने वा मिल्ने हुन्छ । उदाहरणको लागि, बढिमा २१ मिलियन वा २ करोड १० लाख बिटक्वाइन मात्र उत्खनन् गर्न सकिन्छ/मिल्छ । तसर्थ, क्रिप्टोमुद्राको स्फृती हुने सम्भावना नै हुँदैन । यसको अर्थ, कृप्टोमुद्राको रूपमा संचित हाम्रो सम्पत्ती अवमूल्यन हुने वा क्रय शक्ति घट्ने हुँदैन, बरू सुन,चाँदी र जग्गा जसरी समय क्रममा झन्-झन् बढी मूल्यवान हुँदै जान्छ, सम्पत्ती र क्रय शक्ति दुबै बढ्दै जान्छ । यसलाई कहिल्यै बोक्न मिल्दैन/पर्दैन र निकै स-साना इकाइहरू (नेपाली एक पैसा भन्दा पनि निकै कम) मा समेत विभाजन गर्न सकिन्छ । उदाहरणकोलागि, नेपाली एक रुपैयाँलाई सयवटा स-साना इकाइ वा पैसाहरूमा मात्र विभाजन गर्न सकिन्छ ( १ पैसा = रू. ०.०१, वा सय पैसा बराबर एक रुपैयाँ हुन्छ ) भने एउटा बिट्क्वाइनलाई करोडौँ साना टुक्राहरूमा विभाजन गर्न सकिन्छ । बिटक्वाइनको सबभन्दा सानो अंशलाई सतोशी (Satoshi) भनिन्छ । १ सतोशी बराबर ०.०००००००१ बिटक्वाइन हुन्छ, अर्थात् दशकरोड सतोशी बराबर एक बिटक्वाइन हुन्छ ।
अद्भूत राम्रा कुराहरूका पनि बेफाईदा हुन्छन्, किनकी मानव-सृजित कुनै पनि कुरा आँफैमा पूर्ण हुंँदैन । कृप्टोमुद्राको उपयोग गर्न विध्युत र विध्युतिय सामाग्रीहरू जस्तै: स्मार्ट फोन, कम्प्युटर, इन्टरनेट आदिको जरूरत पर्दछ । क्रिप्टोमुद्राहरू संचय गरिने थैलीको ठेगाना (Wallet address) सुरक्षित रूपमा राख्नुपर्ने हुन्छ । ती ठेगानाहरू हराउनु वा भुल्नु हुँदैन । मुद्राहरू जम्मा गर्दा र झिक्दा ती ठेगानाहरूको सहि तरिकाले प्रयोग गर्न जान्नुपर्छ । नत्र, मुद्रा सँधैकोलागि हराउन सक्छ । आफ्नो अज्ञानता, हेल्चेक्र्याइँ वा लापर्वाहीको कारण साइबर अपराधी, चोर वा ह्याकरहरूद्वारा मुद्राहरू चोरिने सम्भावना पनि हुन्छ ।
परम्परागत सोच भएका सरकारी निकायका व्यक्तिहरू, कथित राजनीतिज्ञहरू र विजनेस धरापमा पर्ने डरले अक्रान्त बनेका बैंकर्सहरू कृप्टो-करेन्सीको विपक्षमा खुलेर लागेका छन् । यसलाई शिशु अवस्थामै आक्रमण गरेर समाप्त पार्ने दुस्साहस गर्दै छन् । तर, कृप्टोमुद्रा अब सामान्य परिवर्तनको रूपमा मात्र नभएर क्रान्ति (Revolution) कै रूपमा विश्वभर फैलँदै गएको छ । मलाई विश्वास छ – नागरिकद्वारा नागरिकहरूको लागि आविष्कार गरिएको नागरिकको पैसालाई कुनै तागतले रोक्न, छेक्न र दवाउन सक्ने छैन । जसले त्यस्तो दुस्साहस गर्छ, उसकै विनाश अवश्यम्भावी हुनेछ ।
कृप्टो-करेन्सी ब्लकचेन प्रविधि (Blockchain Technology) मा आधारित हुन्छ । ब्लकचेन प्रविधी इन्टरनेटको विकसितरूप हो, जुन इन्टरनेट भन्दा बढी विश्वसनिय, छिटो, सुरक्षित र पारदर्शी हुन्छ । त्यसैले उक्त प्रविधिलाई इन्टरनेटको सुनौलो युग (Golden age) पनि भन्ने गरिन्छ । ब्लकचेन प्रविधिको राम्रा पक्षहरूको कारण नै विश्वका ठूला कम्पनिहरूले विस्तारै त्यस प्रविधीलाई आत्मसाथ गर्दै रूपान्तरित हुँदै छन् । महत्त्वपूर्ण तथ्य के छ भने – ब्लकचेन प्रविधी संसारमा अहिलेसम्मकै द्रुतरूपमा प्रयोगमा आउन सकेको, नागरिकहरूको विश्वास जित्न सफल भएको र मानिसहरूले छिटो आत्मसाथ गरेको प्रविधी हो ।
कृप्टो-करेन्सी ब्लकचेनमा आधारित भएकोले मानव-सन्जाल (नेटवर्क) मुद्रा पनि भनिन्छ । त्यसैले जुन कृप्टोमुद्राको नेटवर्क बढ्छ, त्यहि कृप्टोमुद्राको मूल्य बढ्दै जान्छ । मुद्राको मूल्य बढ्ने वा घट्ने कुरा नागरिकहरूको छनौटमा निर्भर गर्छ । यसमा सरकारको कुनै भूमिका रहँदैन । त्यस्तै, हरेक नागरिकले कृप्टोमुद्रा उत्खनन् (Mining) समेत गर्न सक्छन्, अर्थात पैसा सृजना गर्न वा बनाउन सक्छन् । तर, त्यो पैसा चल्ने वा नचल्ने फेरी जनताहरूकै हातमा हुन्छ । त्यसैले पनि कृप्टो-करेन्सीलाई जनताको पैसा भन्ने गरिएको हो । नागरिकहरूको छनौटको आधारमा कुनै मुद्रा चल्ने वा नचेल्ने र मूल्य बढ्ने वा नबढ्ने प्रकृया प्राकृतिक नियम (Natural law) संगत हुन्छ ।
कृप्टो-करेन्सी विकेन्द्रित अर्थव्यवस्था (Decentralized finance system: DeFi) मा पनि आधारित हुन्छ । अन्तराष्ट्रिय मुद्रा कोष (International monetary fund) जस्ता केन्द्रिय र विश्वव्यापी अर्थ व्यवस्थाको अनावश्यक हस्तक्षेपको कारण नागरिकहरूले निरन्तर केन्द्रिकृत अर्थ व्यवस्थाको इन्कार, तिरस्कार र विरोध गर्दै आइरहेका छन् । मानिसहरू अरूबाट शासित हुन चाहँदैनन् । आफ्नो सम्पत्तिको मालिक आँफै हुन चाहन्छन्, वास्तविक रूपमा सार्वभौम सम्पन्न बन्न चाहन्छन् र पूर्णरूपमा स्वतन्त्र जीवन यापन गर्न चाहन्छन् । त्यसैले विकेन्द्रित अर्थ प्रणालीलाई मानिसहरूले अधिक रूचाइ रहेका छन् । विकेन्द्रित प्रणाली मानिसहरूको स्वतन्त्रतासँग गाँसिएको हुनाले यसको सफलता अवश्यम्भावी छ, किनकी विश्व इतिहासमा मानव स्वतन्त्रता विभिन्न प्रतिकूल अवस्थाहरूमा पनि सँधै विजयी हुँदै आएको छ ।
विज्ञान र प्रविधीसँगै मुद्रा पनि परिवर्तित हुँदै जानुपर्छ र परिवर्तित मुद्रा प्रविधी मैत्री हुनै पर्छ । ब्लकचेन प्रविधी (Blockchain technology), विकेन्द्रित अर्थ प्रणाली ( Decentralized finance system) र कृप्टो-करेन्सी (Cryptocurrency) मानव इतिहासको सर्वोत्कृष्ठ आविष्कार बन्ने कुरामा मलाई चाँही किंचित आशंका छैन । त्यसैले कृप्टोमुद्रालाई तिरस्कार होइन, आत्मसाथ गर्न सक्नु पर्छ र यसलाई जति सक्दो चाँडो आफ्नो लगानीको एक महत्त्वपूर्ण हिस्सा वा उपकरणको रूपमा उपयोग गरी लगानीलाई थप विविधिकरण गर्नै पर्छ । यो समयको माग र समयले नै उपलब्ध गरएको अभूतपूर्व अवसर पनि हो ।
राज्यको भूमिका
राज्यहरूले पनि कृप्टो-करेन्सी लगायत ब्लकचेन प्रविधी र विकेन्द्रित अर्थ व्यवस्थाहरूलाई प्रतिबन्ध लगाउने जस्ता गैर-जिम्मेवारपूर्ण कार्य गर्नुको साटो ति सकारात्मक परिवर्तनलाई पूर्णरूपमा स्विकार्दै उचित नियम कानून बनाएर तिनलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन अभिभावकिय भूमिका निर्वाह गर्नै पर्छ । एल-साल्भाडोर र ग्वाटेमाला जस्ता देशहरूले कृप्टो-करेन्सीलाई कानुनी मान्यता दिँदै बिटक्वाइनलाई राज्यको आरक्षित मुद्रा (Reserve asset) को रूपमा प्रयोग गर्न थालिसकेका छन् । जसरी सुन, चाँदी, खनिज ग्याँस र तेलको खानी भएका र प्रविधीको विकास गर्न सक्षम मुलुकहरू आजसम्म धनी र सम्पन्न बन्न सके, त्यसरी नै बिटक्वाइन लगायतका उत्कृष्ठ कृप्टो-करेन्सीको उत्खनन् गर्न र तिनलाई धेरै भन्दा धेरै जम्मा गर्न सक्ने मुलुकहरू नै आगामी दिनहरूमा बढी धनी र सम्पन्न बन्न सक्नेछन् । त्यसैले नविनतम प्रविधी र मौद्रिक प्रणालीहरूलाई अँगाल्ने देशहरू भविश्यमा आर्थिक सुपर-पावर बन्ने र तिनलाई प्रतिबन्ध लगाउने देशहरू विपन्न बन्ने प्राय: निश्चित नै छ ।
अन्त्यमा, कृप्टो-करेन्सी यस धर्तीमा विकृति जन्माउन सृजना भएको होइन। यसको उल्टो, प्रचलित मुद्रा (Fiat currency) ले जन्माएका विविध समस्याहरूको समाधान गर्न र मानव जीवनलाई बढि सहज, सरल र समृध्द बनाउन आविष्कार भएको हो । उत्कृष्ठ मुद्रामा हुनुपर्ने ७ वटै गुणहरूले सुसज्जित उच्च कोटीको कृप्टोमुद्रा अबको कैयौँ शताब्दीको लागि अविछिन्न विश्वव्यापी मुद्रा बन्नेछ भन्ने मेरो अन्तष्करणदेखिको बुझाई छ । – फेसबुकबाट साभार

सम्बन्धित समाचार