free website hit counter

एलआइसी नेपाल दक्ष कर्मचारी उत्पादन गर्ने विश्वबिद्यालय नै हो

beemaadmin
२०७८ मंसिर ७, मंगलवार

कोभिड पछिको अहिलेको परिस्थितिलाईएलआईसी नेपालले कसरी लिइरहेको छ ? बीमा व्यवसायकोअहिलेको अवस्था बारे प्रष्ट पारिदिनुहुन्छ कि ?

कोभिड १९ महामारीले विश्व अर्थतन्त्रलाई ठूलो क्षति पुर्‍याएको जग जाहेर नै छ र नेपालको सामाजिक एवं आर्थिक क्षेत्रमा पनि यसको चपेटामा परेको कुरामा मैले केही बोलिरहन परेन । निश्चय नै ग्राहकहरुको सबल आर्थिक हैसियत र सचेतनाबाट नै जीवन बीमाका पोलिसीहरु बिक्री हुन्छन्। यो हिसाबले हेर्दा जीवन बीमा गर्न खोज्ने संभावित ग्राहकहरूको आर्थिक शक्तीमा कोभिडको कारणले ह्रास आई जीवन बीमा व्यवसायमानै संकट पैदा भयो होला भन्न सकिन्छ । तर वास्तविकता त्यस्तो होईन, महामारी सँगसँगै जीवन बीमा त अपरिहार्य रहेछ भन्ने आम मानिसको चेतनामा अभिवृद्दि गरेको छ । यो एकदमै महत्वपुर्ण पाटो हो । हामीहरुले यस महामारीमा आफ्नो परिवारको आर्थिक सुरक्षा गर्न जरुरी छ भन्ने सन्देश आम ग्राहकहरुमा पुर्याइ रहेका छौं । यस्तो विषम परिस्थिति पनि आ.ब. को प्रथम त्रैमासिक अवधिमा हामीहरुले राम्रै कार्य सम्पादन गर्न सक्यौं जसलाई हामीले सन्तोषजनक रुपमा लिएका छौं ।

० कोभिड महामारी जीवन बीमा व्यवसायको लागि एउटा अवसर थियो वा खतरा ?

मानव जीवन कहिल्यै पनि जोखिममुक्त नभएको कारणले मानिसको जीवनमा घटनाको संभावना सधैं रहिरहन्छ । तसर्थ बीमा भनेको जोखीम हस्तान्तरण गर्ने एक माध्यम हो ।जसले भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्न वा सामना गर्नका लागि जोखिमको भार बीमा कम्पनीमा सारेरआर्थिक सुरक्षा प्राप्त गराउँदछ ।

निश्चय नै कोभिड १९ महामारीले विश्व अर्थतन्त्रलाई ठूलो क्षति पुर्‍याएको छ यसले सामाजिक एवं आर्थिक क्षेत्रमा पनि नकरात्मक असर पारेको छ । संगसँगै यसले मानिसहरुलाई के कुरामा पनि सचेत पनि बनाएको छ भने जोखीम जुनसुकै बेलामा पनि आउन सक्छ ।  तसर्थ जोखिमबाट बच्नको लागि जीवन बीमा मानिसको लागि अपरिहार्य तत्व रहेछ भन्ने चेतना अभिवृद्दि भएको छ र बीमा प्रति आकर्षण बढेको मान्न सकिन्छ । मेरो बिचारमा कोभिड महामारी जीवन बीमा व्यवसायको लागि एउटा अवसर मान्न सकिन्छ ।

० नेपालमा धेरै वटा प्रतिस्पर्धी बीमा कम्पनीहरुको बाबजुद पनि ग्राहकहरुलेएलआईसी नेपालमै जीवन बीमा किन गर्ने ? तथ्यगत रुपमा प्रष्ट पारिदिनु हुन्छ कि ?

हेर्नुस्  एलआइसीको संजाल विश्वको २२ वटा देशमा फैलिएको छ र करिब ४० करोड भन्दा बढी बीमितलाई बीमा सेवा प्रदान गरेको छ । त्यसै गरी नेपालमा  ७६ शाखा र ५०,००० भन्दा बढी अभिकर्ताहरू मार्फत करिब १० लाख भन्दा बढीलाई सेवा प्रदान गरिसकेको छ । यस कम्पनीको बोनस दर अन्य बीमा कम्पनीको तुलनामा धेरै भएकोले बीमितहरूले उच्च प्रतिफल प्राप्त गरिरहेका छन्।

बि.स. २०७२ र २०७३ गरी लगातार २ वर्ष सबै भन्दा  बढी आयकर तिर्ने बीमा कम्पनीको रुपमा नेपाल सरकारबाट सम्मानित भएको छ । यसै गरी यस एलआइसी नेपाल Nepal Best Brand Leadership Awards 2018, 2019 बाट लगातार २ पटक, Emerging Asia Insurance Award 2018  बाट र Best Presented Accounts Award, 2008 बाट सम्मानित भएको छ । यत्तिको भरपर्दो र बलियो संजाल भएको बीमा कम्पनीमा तपाई आबद्द हुनुहुँदैछ, यो हामी एवं तपाई दुवै पक्षको लागि गर्वको विषय हो ।

० कम्पनीका उच्च तहका कर्मचारीहरुले यस कम्पनीलाई छोडेर अन्य कम्पनीमा आवद्व भइरहेको देख्न सकिन्छ । लामो समयसम्म काम गरेको कर्मचारीहरुले कम्पनी छोड्दा निश्चय नै ठूलो रिक्तताको आभाष हुन्छ । कम्पनीको प्रमुख कार्यकारीको हैसियतले यो विषयमा के भन्नु हुन्छ ?  

एक हिसाबले हेर्ने हो भने लामो समयसम्म काम गरिरहेका कर्मचारी अर्को कम्पनीमा आबद्द हुनु भनेको आफ्नो सम्पत्ति बिना कुनै मूल्य निशुल्क अरुलाई हस्तान्तरण गरे जस्तै हो । अर्को कोणबाट हेर्ने हो भने नेपालमा जति पनि जीबन बीमा गर्ने कम्पनीहरू छन् ती सबै कम्पनीको  उच्च तहमा अहिले कामगर्ने कर्मचारीहरू सबै एलआइसी नेपालकै उत्पादनहरू हुन् । एक हिसाबले हेर्दा एलआइसी नेपाल नेपालको जीवन बीमा बजारमा दक्ष कर्मचारी उत्पादन गर्ने विश्वबिद्यालय नै हो भन्दा फरक नपर्ला । यसरी एलआइसी नेपालका कर्मचारी अन्य कम्पनीमा सजिलै स्वीकार योग्य भएकोमा त खुशी नै लाग्छ मलाई त ।

० एलआईसी नेपालले बीमितहरूलाई दिने बोनशयसपाली घट्न गएको देखिन्छ यसको मूख्य कारण के होला ?

हेर्नुस सबै भन्दा पहिला म एलआईसी नेपालले आफ्ना बीमितहरूलाई विगतमा प्रदान गरेको बोनशको इतिहास भन्न चाहन्छु । विगतमा हामीले प्रदान गरेको बोनश दर सबै भन्दा उच्च थियो जुन अन्य कम्पनीहरु कसैको पनि थिएन । हाम्रो कम्पनीको बोनश दर कुनै खास वर्षमा मात्र उच्च भएर अन्य वर्षमा कम भएको इतिहास अहिलेसम्म छैन । लगातार हामीले उच्च दरको बोनश कायम राखी राख्न सफल भएका थियौं ।

तर यसपालीको सन्दर्भ चाहीं अलि फरक छ । बोनश आँकडाको रुपमा हेर्दा झट्ट घटेको देखिए पनि वास्तवमा त्यस्तो होइन । यसबारेमा बुझ्न यसको अन्तरवस्तुमा प्रवेश गर्नै पर्ने हुन्छ ।

बोनश घट्नुमा पहिलो कारण भनेको बीमा समीतिबाट जारी भएको निर्देशिकालाई हाम्रो कम्पनीले अक्षरशः पालना गर्नु पर्ने भएकोले हो । उक्त निर्देशिका अनुसार प्रत्येक कम्पनीले आफ्नो आम्दानीको २० % Future Provision को लागि आगामी ५ वर्ष सम्मको लागि छुट्टयाउनु पर्दछ । बीमितले तत्काल प्राप्त गर्ने बोनश भविष्यको लागि छुट्टयाएर राख्नु पर्दा साविकको भन्दा बोनश दर कम हुने देखियो नै । झट्ट हेर्दा बीमितहरुको आफ्नो बोनशको भाग काटिएको जस्तो देखिए ता पनि त्यो सत्य होइन किनभने त्यो रकम एउटा कोषमा गएर बसेको हुन्छ । जुन पैसा हाम्रै बीमितहरुकै नै हो । संस्थालाई आर्थिक रुपले सबल बनाउने यो प्रचलन विश्वव्यापी रुपमा लागू भए ता पनि नेपालमा लागू भएको थिएन । बीमा समितिले अहिले लागू गरेपछि सतहमा देखिंदा बोनश दर कम भएको देखिए ता पनि दीर्घकालमा यसले समग्र जीवन बीमा व्यवसाय लाई स्थायित्व प्रदान गरी थप उँचाइमा पुर्‍याउन मद्दत गर्दछ भन्ने विश्वास गर्न सकिन्छ ।

दोस्रो कारणभन्नुपर्दा कोभिड १९ महामारीले बीमा व्यवसायमा पारेको प्रभाव हो । कोभिडले विश्व अर्थतन्त्रलाईनै ठूलो धक्का पुर्‍याएको सन्दर्भमा बीमा व्यवसाय त्यसबाट अछुतो रहन सक्ने कुरा भएन । जुन रफ्तारले बृद्दि हुनु पर्ने व्यवसाय थियो त्यो रफ्तारमा एक्कासी ब्रेक लाग्न पुग्यो जसको सिधा सिधा असर कम्पनीको performance मा हुन गयो ।

तेस्रो कारण चाहिं कोभिडको कारणले मृत्यु दरमा बृद्दि हुन गई अत्याधिक मात्रमा कम्पनीले मृत्यु दावी भुक्तानी गर्नुपरेकोले हो ।

त्यसै गरी अर्को कारण जीवन बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्रमा भएको ब्याजदरको कमीले हो । हेर्नुस जीवन बीमा कम्पनीहरूले आफूले संकलन गरेको बीमा शुल्क आफूखुशी लगानी गर्न पाउँदैनन् । बीमा समितिको प्रष्ट निर्देशन अनुसार सुरक्षित क्षेत्र जस्तै वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्नु पर्ने हुन्छ । एक प्रतिशतले मात्र ब्याजदरमा कमी आउँदा कम्पनीले प्राप्त गर्ने व्याज रकममा निकै ठूलो अन्तर आएर आम्दानीको ठूलो हिस्सा गुमाउनु पर्ने हुन्छ । विगत वर्षहरुमा उक्त ब्याजदरनिकै नै कम भएकोले कम्पनीको आम्दानी घट्न गएको हो ।

० अन्त्यमा आफ्ना बीमितहरू एवं सरोकारवालाहरूलाई लाई केही भन्न चाहनु हुन्छ ? 

हाम्रा बीमा पोलिसीहरू अन्य कम्पनीको तुलनामा निकै नै सस्ताे छन् र यस्तो बिषम परिस्थितिमा पनि ग्राहकलाई आकर्षित गर्न सफल भएको छ । तपाईलाई एउटा कुरा के प्रष्ट पार्छु भने व्यवसायमा लाभ-लागत विष्लेषणको ठूलो महत्व हुन्छ । लगात कम हुँदा प्रतिफल राम्रो हुन्छ । एलआइसी नेपालले कम लागतको पोलिसीहरू बिक्री गरेर उच्चतम प्रतिफल प्रदान गरिरहेको छ । त्यसैगरी संस्थागत सुशासन पालनामा अब्बल छ । म आफ्ना बीमित एवं सरोकारवालाहरूलाई एलआइसी नेपालप्रति गर्नु भएको विश्वास एवं भरोसालाई अटुट राखी गुणस्तरीय बीमा सेवा प्रदान गरिरहने प्रतिज्ञा गर्दछु ।

सम्बन्धित समाचार