लामो समय देखि अनिश्चित हुदै आएको नेपाली कांग्रेसको महाधिवेशन बल्ल बल्ल सकिएको छ। के सोचें मैले के भयो अहिले भन्ने बोलको गीत जस्तै नतिजा दिएर अधिवेशन विदा भएको छ । नेपालको ठूलो ,ऐतिहांसिक र एक प्रजातान्त्रिक पार्टी भएको नाताले देशले विभिन्न तवरबाट निकास खोजी रहेको बेलामा यो पार्टीको मुख सबैले ताकेको अवस्था थियो ।अहिले पनि देशको लोकतन्त्रमा अन्यौलता आई रहेको स्थिति हुदा यो महाधिवेशनबाट एउटा सक्षम र सवल नेत्तृत्त्वको अपेक्षा गरिएको थियो।
त्यसैले यो अधिवेशनको माग पनि पुरातनवादीहरूको अन्त्य संगै पुस्तान्तरणको आरम्भ भन्ने नाराका साथ निर्वाचन आरम्भ गरिएको थियो। विश्व डिजिटल भै रहेको स्थिति र नेपालमै पनि भित्रिई सकेको प्रविधिलाई अनदेखा गरी प्रारम्भिक पंचायत कालीन चुनावलाई बिर्साउने गरी खानेपानीका टंकीलाई मतपेटिका बनाई एउटा मतदातालाई ५ घण्टा लाईनमा राखी सम्पन्न भएको चुनावबाट खोदा पहाड, निकला चुहा भन्ने हिन्दी उखानलाई चरीतार्थ गर्ने किसिमको परिणाम निस्कियो। सत्ता, शक्ति र पदको दुरूपयोग गर्दै सकिएको चुनावले प्रविधि मात्र परम्परागत गरेन नेता समेत परम्परागत नै छान्यो। यो चुनावमा हार हुने डरले चुनावै गर्न हिम्मत नगरेका नेत्तृत्त्वलाई सन्निकट राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन नपरेको भए यो महाधिवेशन अझै सर्ने निश्चितै थियो।
मतदाताहरू आफैले चुनेर तिनीहरूबाट आफू चुनिने दुश्शाहस गरेका कारणले पनि थप आलोचित हुन पुगेको नेत्तृत्त्व संग निर्वाचनका खासै एजेण्डा थिएनन् मात्रै हैन कि चुनावी एजेण्डा ल्याउन जरूरी पनि ठानिएन। म सभापति भईन भने गठबन्धन सरकारबाट हट्नु पर्छ, विवादित एम सी सी पनि पास हुदैन भन्ने कपोलकल्पित नारालाई एजेण्डाको रूपमा अगाडि सारेर अधिवेशन गरियो। चुनावका दिन निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी मतदानको काम शुरू भयो, लाईनमा बसेका मतदातालाई मतपत्र सकियो भनी २ घण्टा सम्म प्रतीक्षा गर्न लगाईयो।
सभापतिको उमेद्वारको रूपमा मतदाता संग मत माग्ने निहुमा आफूलाई मतदान नगर्ने मतदातालाई धम्क्याउने काम गरेर पदको दुरूपयोग समेत भयो। देश भित्र विभिन्न जिल्लामा कृयाशील सदस्य बनाउने क्रममा समेत पक्षपात त भयो नै त्यस माथि पनि विभिन्न देशमा रहेका जन सम्पर्क समितिबाट नाम मात्रको अधिवेशन गरी विना चुनाव प्रतिनिधि छनौट गरी हतार हतारमा बोलाउने काम भयो। मतदातालाई आफ्नो पक्षमा पार्न पदहरू वितरण गर्ने, आश्वासन दिने, चैतेहरूलाई भित्र्याउने, ईमान्दारहरूलाई पाखा लगाएर सकुनीहरूलाई धाप मार्ने काम समेत भयो। पहिलो दिनको चुनावमा स्पष्ट बहुमत आउन नसक्दा प्रतिद्वन्दी उमेद्वारहरूलाई झुट्टा र उधारा आश्वासन बाडेर दोश्रो दिनको तयारी गरियो।
यसरी सत्ता र शक्तिको संयोजनबाट पद हत्याउने काम भयो। राजनीति फोहोरी खेल हो भन्ने सुनिन्थ्यो तर यस पटक आफैले देख्न पाईयो। अघिल्लो दिन सम्म पुस्तान्तरणको नाराले घांटी सुकाएका विरासतका प्रतीकहरूले आधा रातमै पुरातनको जामा लगाएर मतदाताको लाईनमा खडा हुन पुगेको दृश्यले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुदैनन् भन्ने भनाई चरीतार्थ पार्यो। केही समय पछि हुन गै रहेको तीनै तहको निर्वाचनमा पार्टीको दर्हो उपस्थिति देखाउने आश्वासनबाट उम्मेद्वारी दिएको नेत्तृत्त्वको भूमिका त्यति बेला पनि सरकार र पार्टी प्रमुख कै थियो जसले उक्त तीनै निकायमा पार्टीको उपस्थिति खोज्न झण्डै ३.७५ पावर भएको चस्मा लगाउनु पर्ने बनाएको थियो।
यस्तो परिवेशमा तिनै पात्रले दिएको यो आश्वासन कति विश्वसनीय हुने हो त्यति बेलै थाहा होला। यतिखेरको महाधिवेशनमा पुस्तान्तरणका प्रतीक यूवाहरूको प्रवेश हुने सम्भावना पनि छ, त्यसको नतीजा आउन केही दिनको प्रतीक्षा गर्नु पर्ला तर यूवाको प्रतिनिधिको रूपमा देखिएका प्रवीणजीलाई मतदाताले गरेको उपेक्षाले के संकेत दिदैछ? के यूवाहरूको प्रवेशका लागि गुट उपगुट अनिवार्य हो? ब्यक्तिको भिजन ,मिशन भन्दा गुट उपगुट नै प्राथमिकतामा पर्छ? यस्ता प्रश्नले पार्टीमा यूवाहरूको सहभागितालाई निश्चय पनि ढुक्क बनाउदैनन्। यो अधिवेशन जे जसरी सकिए पनि आगामी अधिवेशनले यसमा भएका कमी कमजोरी हटाएर एउटा सफल र सक्षम राजनीतिक दलको रूपमा नेपाली कांग्रेसलाई उभ्याउने अपेक्षा गरिएको छ।