बीमा व्यवसाय त्रिकोणीय रुपमा फाइदाजनक व्यवसाय हो र यसलाई पाँच कारणबाट फाइदा योग्य भन्न मिल्दछ । यसरी फाइदा लिनेहरुमा बीमित, अभिकर्ता, बीमकका कर्मचारी, बीमक वा लगानीकर्ता र पहिलो र दोस्रा बजारमा कारोबार गर्ने शेयर होल्डर वा पुनः लगानीकर्ताहरु पर्दछन् । प्रायः व्यवसायमा क्रेता र बिक्रेताबीच मोलमोलाई गरी वस्तु (उत्पादन) को बिक्री गरेर नाफा कमाईन्छ र एक दुई जनालाई फाइदा हुन्छ । तर बीमा बजारमा उत्पादनको बिक्री गर्दा सर्वपक्षीय फाइदा, नाफा निश्चित प्राय हुन्छ । यो कसरी सम्भव हुन्छ भने बीमालेख बिक्रेताले बिक्री गरी जोखिम हस्तान्तरण गर्दछ । बीमकले अर्थोपार्जन गर्छ अभिकर्ताले कमिशन पाउँछ, बीमिले जोखिमको हिस्सा बीमकलाई सारेर ढुक्क हुन्छ र कम्पनीको आर्थिक अवस्था हेरेर शेयर लगानीकर्ताहरुले लगानी गर्दछन् । आजसम्म बीमा बजारको प्राक्टिस यही देखिन्छ । जीवन बीमा कम्पनीले आफैं व्यापार गर्दैन । बीमकले अभिकर्ताको माध्यमले बीमा बजार विस्तार गरिरहेको हुन्छ । प्रायः बीमितले बीमकको नभई अभिकर्ताको विश्वासमा विमित भएका हुन्छन् वा बीमा गरेका हुन्छन् । यो नेपालमा बीमा कम्पनी स्थापना भएदेखि आजसम्मको प्रयोगात्मक पक्ष हो ।
कस्तो हुनुपर्ला अभिकर्ता ?
निश्चय नै अभिकर्ता बीमालेखको विक्रय कला भएको हुनुपर्दछ र सम्बन्धित बीमकको बीमालेखको पूर्ण ज्ञान भएको हुनुपर्दछ । कुनै ग्राहकले अन्य बीमा कम्पनीको सुविधा यस्तो छ नि, उस्तो छ कि भनि प्रश्न गर्दा सहज रुपमा सकारात्मक उत्तर दिनसक्ने हुनु पर्दछ ।
कसरी उत्पादन हुन्छ अभिकर्ता ?
बीमा सम्बन्धी जनजागरण अभियान गर्नु पर्ने बीमा समितिले आफ्नो कर्तव्य बीमकलाई पन्छाईदिएको छ र बीमकले झारा टारेर र सिघ्र बीमाशुल्क आर्जन गर्नलाई १–२ घण्टा भर्चुअल तालिम दिएर अभिकर्ताको इजाजत कोड दिन्छन् र इजाजत पत्र बीमा समितिले दिन्छ ।
अभिकर्ताका लागि तालिमको व्यवस्था
बीमा अभिकर्तालाई कम्तिमा २१ घण्टाको तालिम दिइनु जरुरी हुन्छ । त्यसभित्र बीमा सम्बन्धी सामान्य जानकारी, बजार व्यस्थापन, विविध चर्चित बीमालेखहरु र अन्तर्राष्ट्रिय अभ्यास र इतिहास प्रशिक्षणमा प्रस्तुत गर्ने गर्दछ ।
बीमक र अभिकर्ता उत्पादनका विसंगतिहरु
विसं ०६० को दशकमा बीमा समिति निकै सक्रिय थियो र आफ्नै नेतृत्वले जीवन र निर्जिवन बीमा सम्बन्धी तालम एक हप्तासम्म चलाउथ्यो र अभिकर्ताहरु बीमा बजारमा जान योग्य बन्दथे । तर हाल आएर अभिकर्ता तालिम बीमकलाई नै जिम्मा दिइँदा विकृति बढी नै देखिएको छ । जसमा बीमकले बीमाशुल्क आर्जन र व्यवसाय देखाउनलाई अन्धाधुन्द अभिकर्ता चयन गर्न थाले । कोभिड १९ को बेलामा भर्चुअल भैरहेको थियो भने हाल आएर पनि यो चलन चलिनै रहेको छ ।
१–२ घण्टाको तालिम दिएर अभिकर्ताको इजाजत बाँड्दा अभिकर्ताले बीमा सम्बन्धी पूर्ण ज्ञान हासिल गर्न सक्दैन । यस्तो अभिकर्ताले न आफ्नो बीमा गर्न सक्दछ न त अरुको । बाघको शिकार गर्न जाँदा बारुद भरेको बन्दुक चाहिन्छ गुलेली बोकेर शिकार गर्न सकिँदैन । जबकि मार्केटिङ बजारमा ८० प्रतिशत सम्बन्धित कुराको जानकारी र २० प्रतिशत प्राक्टिस चाहिन्छ तर यहाँ २० प्रतिशत पनि जानकारी भएको पाइँदैन । अर्को अभिकर्ता त्यो सर्कलमा बीमा गराउन गएमा आफैं वा आफन्त अभिकर्ता भएको बताइदिन्छन् तर बीमा गरेको पनि हुँदैनन् गराउदैनन् पनि । यसरी कर लगाएर अभिकर्ता उत्पादन गर्दा बमिा बजार विस्तार हुनुको सट्टा खुम्चिने निश्चित छ । इच्छाशक्ति भएको जागरुक व्यक्तिर्ला पूर्ण तालिम दिएर इजाजत बाँडेमा यस विकृति हटेर जाने निश्चित छ । यस विषयमा सरोकारवालाहरको ध्यान आकर्षण होस् ।