free website hit counter

बतास काण्डका नायकहरू !

beemaadmin
२०७८ पुष २५, आईतवार
नारायणहिटी काण्डमा योगेश भट्टराई एउटा खेलाड़ी त हुनसक्लान्, तर यो खेलका क्याप्टेन र रेफ्री ईश्वर पोख्रेल र केपी ओली हुन् ।
-राजसंस्थाको अन्त्यसँगै त्यो संस्थाले भोगचलन गर्दै आएका भौतिक-अभौतिक सम्पत्ति सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा मात्रै प्रयोग गर्न मिल्ने गरी २०६४ मा ‘नेपाल ट्रस्ट’को नाममा ल्याउने कानुन बन्यो । उक्त कानुन अनुसार नारायणहिटीदेखि गोकर्णसम्म छरिएर रहेको जग्गा र संरचनालाई शिक्षा र स्वास्थ्यबाहेक अन्य व्यापारिक प्रयोजनमा लगाउनै मिल्दैनथ्यो । उक्त ट्रष्टको सञ्चालक समितिमा प्रधानमन्त्री संरक्षक रहने तथा गृहमन्त्री अध्यक्ष रहने व्यवस्था थियो ।
-तर जब ओली सरकार आयो, गृहमन्त्रीका रूपमा बादल ट्रष्टको सञ्चालक बने । यातायातमा सिन्डिकेट तोड्न उनले देखाएको ‘तातो’ कदमले सत्तानिकट व्यापारी समूह नै झस्कियो । उनी ट्रष्टको अध्यक्ष हुँदा व्यापारीलाई अलि बढ़ी कसरत हुने देखिएपछि ऐन नै संशोधन गर्नुपर्ने भयो । शिक्षा र स्वास्थ्यको सीमाले पनि अलिकति अप्ठेरो पारेको थियो ।
-२०७५ मा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७५’ आयो । त्यहाँ नेपाल ट्रस्टको ऐन पनि संशोधन भयो । यति समूहकै लागि संशोधन गरिएको उक्त ऐनअनुसार शिक्षा र स्वास्थ्यको सीमा हटाएर पर्यटकीय र व्यावसायिक कार्यमा लगाउन सकिने बुँदा थप भयो । ट्रस्टको जग्गा व्यक्तिका नाममा दिन सकिने कानुन बनाइयो । अनि गृहमन्त्री अध्यक्ष हुने व्यवस्था हटाएर प्रधानमन्त्रीले तोकेको मन्त्री भन्ने व्यवस्था भयो । बादल आउट भए र ईश्वर पोखरेल अध्यक्ष तोकिए । यो संशोधनबाट गृह, शिक्षा मन्त्रालयका सचिबहरू हटाएर निजी क्षेत्रका व्यवसायीलाई सञ्चालक समितिमा ल्याउने बाटो खोलियो र तीन जना ‘यति’ सँग सम्बद्ध व्यक्ति नेपाल ट्रस्टको सञ्चालक बने !
-गोकर्ण रिसोर्ट यति समूहले लिजमा लिएर चलाइरहेकाले लिज नसकियुन्जेल त्यसलाई शिक्षा या स्वास्थ्यको क्षेत्रमा प्रयोग गर्न मुश्किल थियो । त्यो संरक्षित जङ्गलमा खासगरी त्रिभुवन या अन्य विश्वविद्यालयको वनविज्ञान या वातावरण सङ्काय का लागि उपयुक्त रहेको धेरैको ठम्याइ थियो । सरकारको आयु चार वर्ष बाँकी थियो तर लिज सकिन ६ वर्ष बाँकी नै थियो । यस्तोमा एउटा निजी कम्पनीका लागि ऐन नै बदल्ने घटिया हर्कत जरूरी थिएन । कुनै छलफलबिना कानुन फेरियो, प्रतिष्पर्धाबिनै छ वर्ष बाँकी छँदै लिज थप्ने जस्तो हास्यास्पद काम भयो । भोलि अख्तियार प्रवेश गर्न नसकोस् भनेर कानुन नै बदल्ने देखि मन्त्रिपरिषद् बाट निर्णय गराउने अचम्मको खेल भयो । नीतिगत भ्रष्टाचारको यो ठूलो उदाहरण थियो । आज ट्रस्टको हजारौं बिघा जग्गामा तिनैको कब्जामा छ ।
-ऐन संशोधन नभएको भए नारायणहिटीको त्यो क्याफे बन्ने नै थिएन । शिक्षा र स्वास्थ्यभित्र रेस्टुरेन्ट पर्दैनथ्यो । कति बुद्धि पुऱ्याएर स्टेप बाई स्टेप त्यो निर्णय भएको छ भन्ने बुझ्दा जो पनि झस्किन्छ । ऐनले नै नाफामूलक व्यावसायिक कार्यमा दिन मिल्ने भनेपछि अदालतले त्यसलाई कानुनसम्मत देख्ने भयो । प्रतिष्पर्धा नगराई दिएको भनेर खारिज गर्न सकिन्थ्यो, तर त्यसको पनि फूल-प्रुफ प्लान देखियो । भित्रभित्रै साँठगाँठ गरेर ४ कम्पनीलाई सर्टलिस्ट गरिएको रहेछ । त्यसमा तीन वटा त बतास समूहकै रहेछन् । अर्थात् प्रतिष्पर्धा देखाउन एउटै ग्रुपलाई तीन वटा निवेदन हाल्न लगाइएको रहेछ । चौथो कम्पनीलाई प्रक्रिया नपुगेको भनेर डिस्क्वालिफाई गरिएको रहेछ । अब ऐन अनुसार नै बनेको र प्रतिष्पर्धाबाट आएको रेस्टुरेन्टलाई हटाउन सजिलो छैन । त्यसको लागि नागरिक आन्दोलन र धक्का नै चाहिन्छ ।
-सोच्नुस् त, सरकारी वायुसेवा निगमको सञ्चालक समितिमा मुख्य प्रतिष्पर्धी निजी कम्पनीका मान्छे नै भए भने त्यसको हालत के होला ? त्यही भएको छ । हिमालय एअरलाइन्स चलाई रहेको यति ग्रुपका मान्छे निगमको सञ्चालक छन् । अब तिनले कसको हित गर्लान् ?
-नेपाल ट्रस्टजस्तो सार्वजनिक संस्थाको सञ्चालक समितिमा तिनै यति ग्रुपका मान्छे छन् । मन्त्रालयका सचिब रहने व्यवस्था हटाएर तिनलाई ल्याइएको छ । तिनैले त्यो सम्पत्ति कसरी चलाउने निर्णय गर्छन् । यसभन्दा अव्यवस्था र नीतिगत भ्रष्टाचार के होला ?
-देशमा औद्योगिक वातावरण बचाउने, रोजगारी दिने र देशको अर्थतन्त्रलाई जोगाउने काम व्यापारीहरूको हो र हुँदै आएको पनि छ । तर केही राजनैतिक पहुँच भएका घरानाले चोर बाटो प्रयोग गरी समग्र व्यवसाय क्षेत्रको छवि धमिल्याइरहेको दुःखद अवस्था छ । तिनको पहुँच कुनै एउटा अमुक दलसम्म सीमित छैन । जो सत्तामा आए पनि किन्न सक्ने हैसियत तिनको छ र बिक्ने हैसियतको त क़ुरै गर्न परेन ।
-३० वर्ष अघि सत्तामा जो थिए आज पनि तिनै छ्न् । हिजो तिनले लुकेर गर्ने काम आज हाकाहाकी गर्छन् । हिजो कानुनको छिद्र खोजेर भ्रष्टाचार गर्नेहरू आज कानुन नै बदलेर गर्छन् । हामीचाहिँ कुन व्यवस्था ठीक हो भन्ने बहसमैं एकआपसमा लडेर तिनैलाई ताली र आफ्नै दाजुभाइलाई गाली दिँदै बस्ने कहिलेसम्म ? – सामाजिक सञ्जालबाट साभार

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार