काठमाडौं । शिखर इन्स्योरेन्सले जुम्लाका स्याउ किसानलाई ८ करोड भन्दा बढी रकम बीमा दाबी भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले जुम्लामा आयोजित कार्यक्रमका बीच स्याउ कृषकहरुलाई बीमा दाबी रकम भुक्तानी गरेको हो । नेपालको ईतिहासमै एकैपटक दुई हजार बीमितले शिखर इन्स्योरेन्सबाट दाबी भुक्तानी पाएका हुन् । जुम्लाको उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित दाबी भुक्तानी वितरण तथा अन्तरक्रिया कार्यक्रममार्फत् भुक्तानी वितरण गरिएको हो । कम्पनीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बीमितहरुलाई दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेका छन् ।
शिखर इन्स्योरेन्सले जुम्लाका विभिन्न गाउँपालिकामा रहेका १६ लाख स्याउका बोटमध्ये मौसम सूचकांक बीमा अन्तर्गत १ लाख २० हजार ७०८ बोटको बीमा गरेको छ । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा कम्पनीले ७ हजार ४३७ बीमितका ४ लाख २७ हजार १६६ रुपैयाँ स्याउका बोटको बीमा गरिसकेको छ । गत आर्थिक बर्षमा ७ प्रतिशत स्याउको बीमा गराएको कम्पनीले यस आर्थिक बर्षमा १५ प्रतिशत पुराउने लक्ष्य लिएको छ। जसबाट कम्पनीले ७ करोड २ लाख रुपैयाँ संकलन गरी ८ करोडभन्दा बढी दाबी वापतको रकम भुक्तानी गरिसकेको छ ।
कार्यक्रमा उपस्थित स्थानीय कृषक रामकृष्ण थापाले तुसारो लगायतका समस्याले स्याउका बोटमा पर्ने क्षति र त्यसले उत्पादनमा पार्ने जोखिम कम्पनीले वहन नगर्दा केही क्षती संवयम् कृषकले नै भोग्नुपरेको कार्यक्रममा व्यक्त गरेका थिए । शिखर इन्स्योरेन्सले हाल कर्णाली प्रदेशका जुम्ला, मुगु, डोल्पा, कालिकोट र सिमकोटमा पनि स्याउका बोटको मौसमी सूकांकमा आधारित बीमा गर्दै आएको छ ।