काठमाडौं । जीवन बीमा जीवन रहँदाको आर्थिक बचत हो भने जीवन नरहँदा परिवारको आर्थिक बोझ कम गर्ने माध्यम हो । एलआईसी नेपालमा जीवन बीमा गरेर पहिलो किस्ता मात्रै भुक्तानी गरेका एक बीमितको ज्यान कोरोना संक्रमणका कारण गएपछि कम्पनीले आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । इटहरी उपमहानगरपालिका ५ , पचरुखी, सुनसरीका स्थानीय हार्डवेयर व्यवसायी अम्बर बहादुर राउतले २०७७ साल असोज ११ गते ४७ वर्षको उमेरमा पहिलो वार्षिक किस्ता रु ५,३८,९३७ भुक्तान गरेर जीवन बिमा गएका थिए ।
पहिलो किस्ता बुझाएका राउत कोरोना संक्रमण भई २०७८ साल जेठ २७ गते अस्पताल भर्ना भएकोमा उपचारकै क्रममा उनको असार १८ गते
कोभिड १९ को कारण विराट मेडिकल कलेज तथा टिचिङ अस्पताल, बिराटनगर निधन भएको थियो । उनको निधनपछि आश्रित परिवारले आवश्यक प्रक्रिया पूरा गरी बीमा दाबी गरेका थिए । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी बीमितकी श्रीमति हेमा चौहानलाई बीमा दाबी भुक्तानी बापत बीमा रकम रु १ करोड र बोनस रु ६ लाख ७० हजार गरी जम्मा रु १,०६,७०,००० हस्तान्तरण गरेको छ ।
सानो कार्यक्रमको आयोजना गरी दाबी भुक्तानी हस्तान्तरण गरिएको छ । कार्यक्रममा इटहरी शाखाका प्रबन्धक गुन्जेश ठाकुर, अभिकर्ता शुकमान तामाङ, एजेन्सी म्यानेजर बैजनाथ चौधरीलगायतको उपस्थिति थियो । मृत्यु दाबी भुक्तानी कार्यक्रममा श्रीमती हेमा चौहानले आफ्ना श्रीमानलाई गुमाउनु पर्दाको क्षतिपूर्ति कहीं कतैबाट नहुने बताउँदै आर्थिक रुपमा भने बीमाले ठूलो राहत प्रदान गरेको बताएकी थिइन् ।