परिवार, समाज र राष्ट्रलाई योगदान दिदै जीवनको उत्तरार्द्धमा पुगेका नागरिकलाई जेष्ठ नागरिक वा पाका नागरिक भनिन्छ। सम्मानीत यो समूहलाई उनीहरूको उमेरको आधारमा वर्गीकरण गरिएको पाईन्छ। देशको स्वास्थ्य सेवा, खानपान , अन्य वातावरणका आधारमा कुनै पनि देशले आफ्ना नागरिकको औषत आयु निर्धारण गरेको हुन्छ। यसैले जेष्ठ नागरिकको परिभाषामा पारिएको उमेर देश अनुसार फरक फरक हुने गर्छ। नेपालमा जेष्ठ नागरिकको उमेर ६० वर्ष देखि माथिको भनेर जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा २ क ले परिभाषित गरेको छ। यो परिभाषा पनि सधै एउटै रहदैन। स्वास्थ र खानपानमा आउने सुधार संगै यो उमेर बढ्दै जान सक्छ। जीवनको ऊर्जाशील उमेर समाज र राष्ट्रको लागि खर्चेका जेष्ठ नागरिकको सम्मान र हेरचाहमा राज्यले चासो लिनु स्वभाविकै हो। हाम्रो जस्तो संयुक्त परिवारको परम्परा भएको मुलुकमा यस्ता जेष्ठ नागरिकको हेरचाहमा परिवारका सदस्ष खासगरी सन्तानहरूले चासो र जिम्मेवारी लिने चलन हो तर वर्तमान समयमा यो चलन विस्तारै हराउदै गएको छ। किनभने सन्तानहरू अध्ययन वा रोजगारीका कारणले आफ्ना आमाबाबुबाट टाढा रहनु पर्ने वाध्यता पनि रहन्छ।
यस्तो अवस्थामा सन्तानहरूले आफ्ना परिवारका जेष्ठ नागरिकलाई हेर विचार गर्न समस्या पर्ने देखिन्छ। नेपालले पनि आफ्ना जेष्ठ नागरिकको उपयोग र उनीहरूको संरक्षण र उच्च मनोवलका लागि पर्याप्त कानूनी आधार तयार गरेको छ। नेपालको संविधानको धारा ४१ र धारा ४३ ले जेष्ठ नागरिकको विशेष संरक्षण र सामाजिक सुरक्षाको लागि ढुक्क तुल्याएको छ।त्यसै गरी जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ र नियमावली २०६५ को कानूनी ब्यबस्थाले पनि हाम्रा पाका नागरिकको महत्व देखाउदै यिनीहरूको संरक्षण र रेखदेख गर्नु पर्ने कुरा उल्लेख गरेको छ। त्यति मात्र नभएर जेष्ठ नागरिकको हक हित र संरक्षणका लागि मन्त्रालय स्तरको संरचना महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेत खडा गरी राज्यको दह्रो उपस्थिति जनाएको पनि छ। यसका अतिरिक्त सार्वजनिक सेवाको वितरणमा उपलब्ध गराईने सेवाहरू, सार्वजनिक यातायातमा प्रदान गरिएका सेवाहरू, बृद्ध भत्ता आदि पनि प्रदान गरिएको अवस्था छ। यसरी जेष्ठ नागरिकको हितमा सरकारी क्षेत्र यति सकारात्मक हुदा हुदै पनि यसबाट समस्त जेष्ठ नागरिक अपेक्षाकृत लाभान्वित हुन सकेको पाईदैन।
यसको लागि हालको ब्यबस्था उपर समीक्षा गर्दै थप आकर्षित नीति तथा कार्यक्रमका साथ सरकार अघि बढ्नु पर्ने देखिन्छ र यसको साथै अन्य सामाजिक संस्था एवं निजी क्षेत्रलाई समेत यो क्षेत्रमा आउन प्रोत्साहन गर्नु पर्ने देखिन्छ। हरेक प्रदेशमा आवश्यक सुरक्षा ब्यबस्था सहित जेष्ठ नागरिकहरूलाई लक्षित गरेर नर्सिंग होम, आवास गृह, मनोरन्जन स्थल, पुस्तकालय ,धार्मिक मठ मन्दिरको ब्यबस्था गर्नु पर्ने देखिन्छ।यी मध्ये गरीव र असायका लागि निःशुल्क खान बस्न र लुगाफाटोको ब्यबस्था गर्ने र अरूलाई मध्यम किसिमको शुल्क लिने गरी ब्यबस्था गर्न सकिन्छ। हाल सरकारले सीमित स्थानमा आश्रय स्थल बनाएको छ जसले बढ्दो आवश्यकतालाई थेग्न सकेको पाईदैन र एकाध सामाजिक संस्थाले पनि यस क्षेत्रमा झिनो प्रयासहरू गरेका छन् जुन पर्याप्त भएको पाईदैन। यो क्षेत्र पक्कै पनि नाफा मुखी नभएकोले आशातीत रूपमा निजी क्षेत्रले यो क्षेत्रमा सहज रूपमा लगानी गर्दैन तर पनि विभिन्न परोपकारी संस्थाहरूको माध्यमबाट निजी क्षेत्र पनि यो सेवामा सहभागी हुन नआउला भन्न सकिदैन। जेष्ठ नागरिकको अनुभवलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ।
“कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको” भन्ने उखान हरेक नेपालीको जन जिब्रोमा झुण्डिएको छ। अंग्रेजी सहित्यमा पनि “Old is gold “ भन्ने उक्ति चर्चामा भएको पाईन्छ।यसरी हाम्रा जेष्ठ नागरिकलाई हाम्रो अमूल्य निधिको रूपमा प्रयोग गर्न सकिन्छ। त्यसैले यो श्रोतलाई संरक्षण गरेर सदैव स्वास्थ्य राखेर यसको उपयोग गर्न सकिन्छ। हाल नेपालमा जेष्ठ नागरिकको संख्या करीव २३ लाख छ जुन सम्पूर्ण जनसंख्याको करीव ८% हुन आउछ। यो संख्या हाम्रो ऐनले परिभाषित गरे अनुसार ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको हो। यो जनसंख्याबाट मुलुकले उपदेश र शिक्षा मात्र हैन, अर्थोपार्जनका अन्य काम पनि लिन सक्छ। यिनको सेवालाई सरकारले विशेषज्ञताका रूपमा प्रयोग गर्न पनि सक्छ। विकसित देशले यस्ता जेष्ठ नागरिकको संरक्षण र उपयोगमा निकै ध्यान दिएको पाईन्छ।
प्रायः देशले यिनीहरूको उमेरको सीमा ६५ वर्षलाई कायम गरेको पाईन्छ तर यिनीहरूलाई आफ्नो स्वास्थ्यले साथ दिदा सम्म आफ्नो सेवाबाट अवकाश लिने वाध्यता छैन। जति लामो समय काम गर्यो राज्यलाई उति नै कर प्राप्त भै रहने हुदा उसको स्वास्थ्यले साथ दिदा सम्म काम गर्न पाउछ। तर नेपालमा अवकाशको उमेर ५८ देखि ६५ सम्म राखेर कृयाशील हुन सक्ने जनशक्तिलाई समेत सरकारले निवृत्त हुन वाध्य पारेको छ।त्यसैले नेपालमा पनि अवकाशको उमेर बढाएर जेष्ठ नागरिकको संख्या कम गर्न सकिन्छ। यसरी सेवा निवृत्तबाट भन्दा सेवारत नागरिकबाट नै मुलुकले बढी फाईदा लिन सक्छ र मुलुकलाई बढी ब्ययभार पनि पर्ने देखिदैन। अन्त्यमा नागरिक जेष्ठ हुदाहुदै पनि ब्यबहारमा कनिष्ठता बेहोर्दै आएका नेपालका पाका नागरिकहरू उपर सरकारले ठोस नीति र कार्यक्रम ल्याएर वास्तविक रूपमा जेष्ठ नागरिकलाई सम्मान हुने वातावरण मिलाउन सकोस्, शुभकामना छ।