काठमाण्डौ । बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको निर्णय नियामक निकाय बीमा समितिले गत चैत १० गते नै गरेर वैशाख १० भित्र पुँजी वृद्धिको योजना ल्याउन सबै बीमा कम्पनीहरुलाई निर्देशन दिए पनि जम्मा पाँच वटा कम्पनीले मात्रै पुँजी वृद्धिको खाका बीमा समितिमा पेश गरेका छन् । बीमा समितिको सञ्चालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। समितिले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र तोकिएको चुक्तापुँजी पुर्याउन समयसीमा दिएको छ। यसका साथै बीमा समितिले बीमा कम्पनीहरुलाई ३० दिनभित्रमा तोकिएको पुँजीवृद्धिको योजना पेस गर्न निर्देशन पनि दिएको थियो। समितिले निर्देशन दिएको झन्डै २७ दिन हुँदा ५ वटा बीमा कम्पनीहरुले पुँजीवृद्धि योजना समितिमा पेस गरेका छन्। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन्।
अहिलेसम्म ५ वटा बीमा कम्पनीहरुले पुँजीवृद्धि योजना पेस गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । नेको इन्सुरेन्स, मेट लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले मात्रै पुँजी वृद्धिको खाका पेश गरेको पौडेलले बताएका छन् । बीमा कम्पनीहरुको प्रकृति हेरी पुँजीवृद्धिका लागि समितिको प्राथमिकता भने मर्जर नै रहेको पौडेलको भनाई छ ।