free website hit counter

कोरोना बीमाको बाटो हेर्दै बित्यो दुई वर्ष

beemaadmin
२०७९ असार ६, सोमबार

काठमाडौं । कही नभएको जात्रा हाडी गाउँमा भनेजस्तो अदूरदर्शी नेतृत्वका कारण महामारीको जोखिम बहन गर्ने भन्दै कोरोना महामारीले विश्व आक्रान्त भइसकेको बेला नेपालमा २०७७ बैशाख ७ गतेदेखि शुरु भएको कोरोना बीमाको दाबी भुक्तानी अझै अन्योलमा छ । नियमानुसार दावी परेको दुई वर्ष बढी बित्दा पनि भुक्तानी नपाएपछि बीमितहरु निरुत्साहित भएका छन् । नेपालमा २०७७ बैशाख ७ गतेदेखि कोरोना बीमा शुरु भएको थियो । बीमा समितिले महामारीको समयमा नेपालीलाई राहत दिन भन्दै सञ्चालित २० वटै कम्पनीहरुबाट कोरोना बीमा गर्न शुरु गरेको हो । शुरु शुरुमा त उक्त कार्यक्रम प्रभावकारी नै भएको थियो । तर, पछि कम्पनीहरुलाई जोखिमको भार बढी भयो भन्दै सो कार्यक्रम नै पूर्ण रुपमा हटाइयो ।
उत्साहका साथ ल्याइएको उक्त बीमामा बीमितहरुले पनि उत्साहका साथ दावी दिएका थिए । हरेक बीमितहरुले संक्रमण भएपछि तत्कालै पुरै रकम पाएका पनि थिए । तर, पछि पछि भएपछि त्यसको मापदण्डहरु परिवर्तन हुँदै गए । सबै रकम एकमुष्ट रुपमा कम्पनीबाटै पाउने व्यवस्था हटाइयो । जसले गर्दा दावी भुक्तानीको लागि बीमितले गर्नुपर्ने प्रकृयाहरु थप झण्झटीलो भयो । र, प्रकृया पुरा गर्दा गर्दै पनि बीमितहरुले दुई वर्षसम्म पनि रकम पाउन सकेका छैनन् ।
समिति श्रोतका अनुसार उक्त बीमामा १५ लाख ५८ हजार ३४३ जना बीमितले कूल १ लाख ६५ हजार ५९ वटा दावी दिएका थिए । जसमध्ये ५१ हजार ६६९ वटा दावीको भुक्तानी भइसकेको छ भने बाँकी रहेको १ लाख १३ हजार ३९० वटा दावीको भुक्तानी हुन बाँकी छ । २० वटा कम्पनीमा कूल १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ बराबरको दावी परेको थियो । जसमध्ये कम्पनीहरुले ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २३५ रुपैयाँ भुक्तानी गरिसकेका छन् भने १० अर्ब ८४ करोड ६ लाख ८३ हजार ३१९ रुपैयाँ बराबरको कोरोना दावी भुक्तानी गर्न बाँकी छ ।
भुक्तानी हुन बाँकी रकममध्ये सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको छ । कम्पनीले ४१ हजार ३२८ जना बीमितलाई कूल ४ अर्ब १३ करोड २८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । त्यस्तै, दोश्रोमा शिखर इन्स्योरेन्स, तेश्रोमा नेको र चौथोमा सगरमाथा इन्स्योरेन्स छन् । शिखरले १ अर्ब २७ करोड ४२ लाख, नेकोले ६५ करोड ९ लाख र सगरमाथा इन्स्योरेन्सले ५६ करोड १६ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ ।
समितिका अनुसार अधिकांश कम्पनीले १० करोड रुपैयाँ बढीको दावी भुक्तानी गर्न बाँकी छ । दि ओरियण्टल, प्रुडेन्सियल र नेशनल इन्स्योरेन्स बाहेक सबै कम्पनीमा १० करोडभन्दा माथिको दावी भुक्तानी बाँकी देखिएको छ । यी कम्पनीले क्रमशः ६ करोड ८६ लाख, ७ करोड २५ लाख र ५ करोड ३३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । अन्य कम्पनीको तुलनामा यी कम्पनीमा थोरै दावी परेकोले रकम पनि थोरै देखिएको हो ।
कम्पनीहरुले कोरोना मापदण्डअनुसार कम्पनीहरुले भुक्तानी गर्नु पर्ने सबै रकम भुक्तानी गरिसकेका छन् । तर यता सरकारबाट रकम निकासा नभएकाले कोरोना बीमाको भुक्तानी पूर्ण रुपमा रोकिएको हो । त्यसैले अब सरकारले रकम निकासा गरेपछि मात्रै बीमितलाई दावी भुक्तानी गरिने कम्पनीहरु बताउँछन् ।
कोरोना बीमा मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुको महाविपत्ती कोषबाट ५० करोड रुपैयाँ र बीमा समितिको तर्फबाट एक अर्ब रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा बढी दाबी परेमा सम्पूर्ण रकम सरकारले भुक्तानी गर्ने मापदण्डमा उल्लेख छ । रकम निकासा गर्न पटक पटक ताकेता गरिरहेको अर्थमन्त्रालयले हालसम्म सफल हुन सकेको छैन । सोहि रकम भुक्तानी गर्नको लागि बीमा समितिमा विभिन्न पत्र पठाउँदै आएको अर्थमन्त्रालयले केहि दिनअघि मात्रै अर्को पत्र पठाएको छ । जसमा कुन कुन कम्पनीले कति रकम दावी गरेका छन्, कति बाँकी छ त्यसको विवरण दिन समितिसँग माग गरिएको बताएको छ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार