काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा गएर पुँजी वृद्धिका लागि निर्देशन दिएसँगै हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गते देखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्। दुई कम्पनी मर्जर पश्चात बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्न भएको हो ।
वैशाख २३ गते दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो । सम्झौता पश्चात दुबै कम्पनीले असार २ गते विषेश साधारण सभा बोलाएर मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सभाले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०।८५ को स्वाप रेशियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।
हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १८ करोड १० लाख रुपैयाँ पुगेको छ । मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौं रहेको छ ।