free website hit counter

सर्जन बिक काण्डको छानविन बीमा समितिले थाल्यो

beemaadmin
२०७९ श्रावण १७, मंगलवार

काठमाडौं । बाँके कोहलपुरका मृतक सर्जन बिकको बीमा गरेदेखिको सबै विवरणहरु रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा समितिलाई बुझाएको छ । इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार २४ घण्टाभित्रै उक्त विवरणहरु समितिमा पेश गरेको हो । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीबाट डकुमेन्ट झिकाइएको बताउँदै कानुनी प्रकृया अनुसार नै अध्ययन गरेर कमी कमजोरी पत्ता लगाउने बताएका छन् । यससँगै अब समितिका नियमन विभागले उक्त विषयमा थप अध्ययन गर्ने छ । र, कारवाहीको प्रकृया अघि बढाउने छ । इन्स्योरेन्सले पोलिसी जारी गर्दा बुझाएको डकुमेन्ट, अण्डराइटिङ गरेको डकुमेन्ट, बीमितको आयश्रोत लगायतको सबै विवरणहरु समेटिने समितिका अध्यक्ष सिलवालले जानकारी गराए । इन्स्योरेन्सका अध्यक्ष तारा चन्द केडिया भने यो काण्डले बीमा क्षेत्रमै नराम्रो निजिर परेको र अब आम मानिसमा शंका पैदा हुनेमा चिन्ता व्यक्त गरे ।
गरिब परिवारका २१ वर्षीय सर्जन बिकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ । २ महिला र ४ पुरुषको गिरोहले नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइए पछि सो ६ जना अहिले प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त २ करोड ५० लाख लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवं बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनि चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाडौंमा बीमाको भुक्तानि लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जीवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन् । वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्स्योरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको पनि बताए । जसमध्ये सपना मल्लको खातामा आएको २ करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जीव अर्यालको खातामा, ६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खातामा ४६ लाख ८९ हजार रहेको बताए । उक्त रकमबाट ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको, स्वाइप गरेर निकालिएको रकम २ लाख ६९ हजार ९ सय र ५ हजार ३ सय १६ रुपैयाँ रिचार्ज गरिएको पाइएको बताए । मृतकसँग एकपटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकोले विवाह नक्कली भएको प्रमाणित हुने बताए । २ करोड ५० लाख रुपैयाँ बराबरको इन्स्योरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको बताइएको थियो ।

सम्बन्धित समाचार