free website hit counter

अब बीमाको ज्ञान भएका अभिकर्ता

beemaadmin
२०७९ माघ ५, बिहीबार

काठमाडौं । विषयगत विज्ञता नभएका मानिसबाट त्यो क्षेत्रको उन्नति प्रगति सम्भव छैन । नेपालको समस्या नै यही हो । जो जहाँ पनि अगाडि बढ्ने । यो मेरो विज्ञताको क्षेत्र होइन भन्नेहरु भेट्न मुस्किल छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमाप्रति प्रतिवद्ध, दक्ष र योग्य बीमा अभिकर्ताबाट बीमा व्यवसायको गुणस्तर र बीमाप्रतिको विश्वास बढ्ने तथा कम्पनी पनि सशक्त हुने भएकाले बीमा अभिकर्ता इजाजतपत्रका लागि सिफारिश गर्दा यी विषयमा गम्भीर हुन निर्देशन दिए ।
एउटा बीमकको बीमा अभिकर्ताले अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भएर काम गर्न नपाउने कानूनी व्यवस्था छ, अब बीमा कम्पनीले आफ्नो बीमा अभिकर्ता अर्को कम्पनीको बीमा अभिकर्ता छैन भन्ने निश्चित गर्नुपर्छ, बीमा अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छ । बीमा अभिकर्ता हुन तोकिएको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ, उनले भने । यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विगतका कमी कमजोरी नदोहोरिने गरी सङ्ख्याभन्दा गुणस्तरलाई ध्यान दिएर काम गर्न तथा इजाजतपत्र नलिएकालाई बीमा अभिकर्ताका रूपमा काम नगराउन बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र निर्देशक पूजन ढुङ्गेल (अधिकारी) उपस्थित हुनुहन्थ्यो । अन्तरक्रिया कार्यक्रममा जीवन बीमा कम्पनीहरूका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार