काठमाण्डौ । जीवन बीमा व्यवसायमा आफूलाई अलग्गै पहिचानका साथ अघि बढेको जीवन बीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्स गौरवमय १५ वर्ष पूरा गरी परिपक्व उमेर १६औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा देशभरका शाखा, उपशाखा मार्फत् सामाजिक उत्तरदायीत्व अन्तर्गत सप्ताहव्यापी कार्यक्रम आयोजना गरिरहेको कम्पनीले प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कम्पनीले प्रकाशन गरेको जानकारी अनुसार फागुनसम्ममा कम्पनीको जीवन बीमाकोष ३५ अर्ब ६० करोड रूपैयाँ पुगेको छ। कम्पनीले यस अवधिमा ४० अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कूल बीमाशुल्क आम्दानीको ८७ प्रतिशत रकम कम्पनीले बीमा कोषमा जम्मा गर्न सफलता पाएको छ। यस अवधिमा कम्पनीको लगानी ३९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। यो कम्पनीसँगै २०६४ सालमा संचालनमा आएका अन्य जीवन बीमा कम्पनीहरूको तुलनामा जीवन बीमा कोष र लगानी दुबै निक्कै ठूलो हो ।
यसैगरी चालू आर्थिक वर्ष २०७९।८० को फागुन मसान्तसम्ममा एशियन लाईफ इन्स्योरेन्सले कूल ४ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीमा हाल ६ लाख ११ हजार सकृय बीमालेख रहेका छन् । २ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीले गत आव २०७८।७९ को नाफाबाट करिब ८ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरिसकेको छ। पछिल्लो समयमा लगानी विविधतालाई प्राथमिकता दिएको यो कम्पनीले बीमा क्षेत्रकै पहिलो लगानी व्यवस्थापक कम्पनी एशियन क्यापिटल लिमिटेड र चार तारे होटल क्राउन इम्पेरियलमा लगानी गरेको छ। करिब ४ सय जनाले प्रत्यक्ष रोजगारी पाएको यो कम्पनीले देशभर ११ हजारभन्दा बढी सकृय अभिकर्ता र देशभर १५१ वटा शाखा,उपशाखामार्फत् बीमितलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।