काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन २०७९ जारी गरेको छ । प्राधिकरणले लघु बीमा व्यवसायको विकास, प्रबर्द्धन तथा व्यवस्थापन गरी बीमा मार्फत न्युन आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी लघुबीमा निर्देशिन जारी गरेको हो । निर्देशन अनुसार जीवन लघुबीमा लेखको हकमा एक वर्ष वा सो भन्दा बढी अवधिको र निर्जीवन लघुबीमा लेखको हकमा एक वर्ष वा सो भन्दा कम अवधिको लागि मात्रै जारी गर्न सकिने व्यवस्था छ । लघु बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति र समय समेत उल्लेख गर्नुपर्दछ ।
बीमकले बीमितबाट पुरा बीमाशुल्क प्राप्त नगरी लघु बीमालेख जारी गर्न नपाईने व्यवस्था छ तर नेपाल सरकार, प्रदेश सरकारले वा स्थानीय तहले बीमालेखमा अनुदान उपलब्ध गराएको भए सो बराबरको रकम घटाई बाँकी बीमाशुल्क लिएर बीमा गर्न सकिनेछ । यस्तै लघु बीमालेखको बीमाशुल्कमा कुनै प्रकारको छुट प्रदान गर्न वा बीमाशुल्क कटौती गर्न वा सहुलियत दिन पाइने छैन् तर बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री प्रत्यक्ष बीमा गरीको हकमा भने ५ प्रतिशतका दरले हुन आउने रकम छुट पाउने निर्देशनमा व्यवस्था छ । निर्देशिन अनुसार निर्जीवन बीमा तर्फ ५० लाख रुपैयाँसम्म र जीवन बीमा तर्फ ५ लाख रुपैयाँ भन्दा कम बीमांक रकमको मात्रै बीमालेख जारी गर्न सकिनेछ । लघु बीमा निर्देशन अनुसार बीमा कम्पनीहरुले लघुबीमा दाबी भुक्तानी सम्बन्धि आवश्यक कागजपत्र प्राप्त भएको बढीमा २१ दिन भित्र दायित्व यकिन गरी भुक्तानी गर्नुपर्ने छ । प्राधिकरणले लघु बीमा निर्देशिका २०७६ भने खारेज गरिएको जनाएको छ ।