free website hit counter

साटिएका दुइ मन्त्रीकाे यस्ताे हर्कत

beemaadmin
२०७६ पुष १, मंगलवार

काठमाडौं । मन्त्रालय परिवर्तन भएपछि दुई मन्त्री उपेन्द्र यादव र भानुभक्त ढकालबीच एक अर्काले गरेका निर्णय फिर्ता गर्ने कार्यलाई तिव्रता दिएका छन् । उही प्रधानमन्त्री र केही मन्त्रालयमा मन्त्री हेरफेर हुँदा मन्त्रालय साटिएका उपप्रम यादव र ढकाल प्रधानमन्त्री नै फेरिए जस्तो गरी एक अर्काले गरेका निर्णय फिर्ता गर्दा सत्ता गठबन्धनमा समेत दरार उत्पन्न हुने अवस्था देखिएको छ । यसअघि कानुन मन्त्रालय सम्हालेका भानुभक्त ढकालले मन्त्रालय परिवतन हुनु केही दिनअघि मात्र न्याय परिषद्को बैठक राखेर रिक्त नभएको स्थानमा समेत न्यायाधीश नियुक्त गरेका थिए ।

कानुन मन्त्रालयमा उपेन्द्र यादवले बहाली गरेलगत्तै उक्त निर्णयको उनले चर्को विरोध गर्दै निर्णय पुनरावलोकन हुनसक्ने संकेत गरेका थिए । यादवको उक्त टिप्पणीसँगै स्वास्थ्य मन्त्रालय सम्हालेका भानुभक्त ढकालले समेत मन्त्रीपरिषद्मा प्रस्ताव पुगेर निर्णय हुन बाँकी रहेका र मन्त्रालय परिवर्तन हुनु केही दिनअघि मन्त्रिस्तरीय निर्णयबाट भएका केही निर्णयहरू सच्याउन अग्रसरता देखाएका छन् । यतिसम्मकी कानुनमन्त्री यादवले उक्त निर्णय सच्याउन भरमग्दुर प्रयास गरे पनि कानुनी अवरोधका कारण सम्भव देखिएको छैन ।

न्यायपरिषद्ले सिफारिश गरेका व्यक्तिलाई नियुक्ति दिनुबाहेक अर्को विकल्प छैन । कि त नियुक्ति दिनु पर्यो कि न्यायपरिषद्को बैठक राखेर यसअघि आफैंले सिफारिश गरेको नियुक्ति सिफारिशलाई फिर्ता लिनु बाहेक अर्को विकल्प देखिँदैन । न्यायापरिषद्को अध्यक्ष प्रधानन्यायाधीश हुने यसमा कानुन मन्त्री पदेन सदस्य मात्रै हुने भएका कारण यादवको एक्लो निर्णयबाट उक्त सिफारिश फिर्ता हुने अवस्था देखिँदैन । त्यो अवस्था नदेखिएपछि उनी सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रकरणमा आफ्नो आक्रोश पोखिरहेका छन् । सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा पदम वैदिकलाई नियुक्ति गर्न प्रधानन्यायाधीश राणा लगायत न्यायापरिषद्का सदस्यहरूले जोड बल गरे पनि कानुनमन्त्री यादव र सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कार्कीले अवरोध गरिरहेका छन् । यादव र कार्की कुनै पनि हालतमा वैदिकलाई सर्वोच्च छिर्न दिने पक्षमा छैनन् । न्यायपरिषद् सदस्यबाट राजीनामा दिएर सर्वोच्च अदालतको न्यायाधीश खान अग्रसरता देखाएका वैदिकको योजनालाई सफल हुन नदिन यादव लाग्नुको पछाडि आफूभन्दा अगाडि कानुन मन्त्रालय सम्हालेका मन्त्री ढकाल आफूले सम्हालेको स्वास्थ्य मन्त्रालयमा गएपछि धमाधम निर्णय परिवर्तन गर्न थालेपछिको परिणाम हो ।

यता, स्वास्थ्यमन्त्री ढकाल पनि कम देखिएका छैनन् । उनले पनि एउटै क्याविनेटका सहकर्मी यादवले गरेका निर्णय धमाधम उल्ट्याउन लागि परेका छन् । यादवले मन्त्रिपरिषद्मा लगेका धेरै निर्णयहरू थाती रहेका थिए । ती निर्णयहरू निर्णयार्थ पेश गर्नुको अलावा ढकाल भने ती निर्णय मन्त्रिपरिषद्मा फिर्ता गराउन पत्रै लेखेर लागि परेका छन् । केही दिनअघि मन्त्रालयबाट मन्त्रिपरिषद्मा पत्र पठाउँदै ढकालले विभिन्न नियुक्ति र मनोनयनसम्बन्धी प्रस्तावहरू फिर्ता पठाउन पत्राचार गर्नुले उनी द्वन्द्व बढाउन अग्रसर भएको देखाउँछ । मेडिकल काउन्सिलको सदस्यको नियुक्ति, नेपाल नर्सिङ काउन्सिलको सदस्य, नेपाल फार्मेसि परिषद्को रजिष्टारमा नियुक्तिका लागि सिफारिश भएका प्रस्तावहरू अध्ययन तथा पुनरावलोकनका नाममा फिर्ता माग्नुले झन् गम्भीर आशंका खडा गरेको छ ।

उनले भरतपुर क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि सिफारिश गरिएका डा. विजयराज न्यौपानेको नियुक्तिसम्बन्धी प्रस्तावलाई पनि फिर्ता पठाइदिन अनुरोध गरेका छन् । आफू फरक ढंगले चल्न खोजेको भन्दै मन्त्री ढकालले विभिन्न सार्वजनिक समारोह एवं पत्रकार सम्मेलन नै गरेर पूर्ववर्ती मन्त्रीले गरेका स्वास्थ्यका कर्मचारीको समायोजन त्रुटीपूर्ण मात्र भएको बताएका छैनन् सो त्रुटी सच्याउनका लागि आफू गम्भीर रूपमा लाग्ने समेत बताएका छन् । उता उपप्रम तथा कानुन मन्त्री पनि के कम । उनले पनि पत्रकार सम्मेलन तथा सार्वजनिक समारोहमै न्यायपरिषद्ले रिक्त दरबन्दी नहुँदै न्यायाधिश नियुक्ति गर्नु गल्ती भएको बताउँदै पूर्ववर्ती मन्त्री ढकालले गरेका निर्णयहरू ठिक थिएनन् भनेर घोषणा गर्नुले दुई मन्त्रीबीचको टकराव मैदानमा देखिएको छ ।

सम्बन्धित समाचार