लाउडादेखि धमिजा, सत्तरी करोड़देखि दुई करोड़, वाइडबड़ीदेखि यति र ओम्नी, भूकम्पको त्रिपालदेखि सुकुम्बासी पौडेलको बालुवाटारसम्मका काण्डहरू मिडिया नभएको भए बाहिर आउने थिएनन् ।
त्यत्ति मात्रै होइन, ज्यानको बाजी लगाएर मिडियाले मुक्तिनाथ अधिकारीदेखि बाँदरमुड़ेसम्मका माओवादी ज्यादती र आतङ्कबारे नलेखेको भए त्यस्ता धेरै घटना दोहोरिने मात्रै थिएनन्, आज कांग्रेस-एमालेले गठबन्धनमा हुँदा जनयुद्ध दिवस मनाउने र बाहिर हुँदा १७ हजारको गणित देखाउने अवसर पाउने थिएनन् ।
मिडिया कमजोर हुन्थ्यो भने देशको सुशासनको चित्र थप कुरूप बन्ने थियो । अदालतले न्याय दिन नसकेका र राज्यले उपचारको सुविधा दिन नसकेका लाखौंलाई मिडियाले न्याय र उपचार दिएको छ । राज्यले उपेक्षा गरेका कैयौं शवहरूलाई विदेशी कर्मभूमिबाट मिडियाले स्वदेश पुऱ्याएको छ ।
मिडिया यति शक्तिशाली नभएको भए शायदै बालेन काठमाडौंको मेयर चुनिने थिए । सेतोपाटीले त बालेन र रवि लामिछानेलाई चुनाबअघि नै विजेता घोषणा गरेको थियो । आफैविरुद्ध सार्वजनिक टिप्पणी आए पनि आफ्नो धर्म नगुमाई सेतोपाटीले तनहुँमा रास्वपाले ठूलो मतान्तरसहित जित्ने प्रक्षेपण गरेकै थियो । मिडियाले सुरुदेखि नै नयाँ उम्मेदवारलाई अन्यलाई भन्दा बढ़ी स्पेस दिएको थियो । मिडिया फेस नै गर्न मन नपराउने बालेनलाई पनि अझैसम्म मिडियाले साथ दिएकै छ । उनका साना स्ट्याटसलाई समेत प्रायशः हरेक मिडियाले समाचार बनाएको देख्नुभएकै होला । मिडियाकै शक्ति प्रयोग गरेर रवि लामिछानेले कैयौं भ्रष्टाचार काण्डको भण्डाफोर गरेकै हुन्, कैयौं दीनदुःखी र चेपुवामा परेका नागरिकको उद्धार गरेकै हुन् । उनको लोकप्रियता मिडियाकै शक्तिले आर्जेको हो । पोखरामा अपील त्रिपाठीले घूस खानेहरूलाई आच्छु आच्छु पारिरहेको मिडियाकै तागतले गर्दा हो ।
महाकालीदेखि कालापानी बेचेको मिडियाले होइन । आफ्नै देशका नागरिकलाई शरणार्थी बनाएर अमेरिका बेचेको मिडियाले होइन । ऋणमा बन्ने पाँच वर्षको मेलम्चीलाई पच्चीस वर्ष लगाएर र पाँचौं गुना लागत बढ़ाएर लुटेको पनि मिडियाले होइन । दिनको दुई वटा अन्तर्राष्ट्रिय फ्लाइट पनि नहुने ठाउँमा ऋण लिएर अन्तर्राष्ट्रिय विमानस्थल खोल्ने र त्यसको ब्याज तिर्न अर्को ऋण लिनुपर्ने ट्ऱ्याप पनि मिडियाले सिर्जना गरेको होइन । मालपोतदेखि यातायातसम्म राजश्व तिर्न लाइन लाग्दा समेत घूस खुवाउनुपर्ने राज्य संयन्त्र पनि मिडियाले बनाएको होइन । आज लाखौं युवा बाहिर जान विवश हुने गरी भयावह बेरोजगारी छ, धान्नै नसक्ने स्तरको महँगी र मूल्यवृद्धि छ । बाटोमा धुलो र धुवाँको कुरो गर्नै परेन, हामी विश्वकै प्रदूषित राजधानी शहरमा बस्छौं । देशै भरका बाटो धुलाम्य छन् । श्वासप्रश्वास र क्यान्सरको विकराल समस्या छ । तीस प्रतिशतभन्दा बढ़ी बालबालिका कुपोषणले ग्रस्त छन् । अधिकांश सड़कहरूमा फुटपाथ छैन । ती यति असुरक्षित छन् कि दश वर्षे माओवादी युद्धको भन्दा धेरै जनधनको क्षति सड़क दुर्घटनामा हुँदै आएको छ । यो सबै विषयमा नेपाली राजनीति बोल्दैन । अलिअलि बोल्ने मिडियाले नै हो ।
हरेक राजनीतिक दल मिडिया कमजोर होस् भन्ने चाहन्छ । कसरी मिडियालाई मुट्ठीमा कस्न सकिन्छ त्यस्तो कानुन बनाउन चाहन्छ । तिनले यस्तो भाष्य निर्माण गर्न चाहन्छन् जसले गर्दा हामीलाई लागोस्, यो देश नेताहरूले स्वर्ग बनाउँदै थिए तर बीचमा मिडिया आएर नर्क बनाइदियो । यो देशका सारा बेथिति, विकृति, विसङ्गति र भ्रष्टाचार हटाउने हो भने मिडियाको घाँटी निचोरिदिए पुग्छ । देशमा सिस्टम ठीकठाक छ, नेताहरू ठीक छन्, योजना र तिनको गति ठीक छ । बस्, एउटा मिडिया ठीक भयो भने बाँकी त्यसै ठीक छ ।
मिडियाप्रति आम जनमानसमा विद्वेष, घृणा र अविश्वास पैदा गर्न सकियो भने भोलि आफ्ना अनियमितता र भ्रष्टाचार मिडियामा बाहिर आएछ नै भने पनि कसैले नपत्याउने या मिडियामाथि नै खनिने अवस्था आउँछ । मिडियालाई तेजोबध गर्न सकेको त्यो दिन अहिले भन्दा पक्कै भयावह हुनेछ ।
नयाँ र स्वच्छ भनिएका दलहरूले त सिस्टम र बेथितिविरुद्ध लड्नका लागि मिडियालाई बलियो बनाउनुपर्ने हो । जनमानसमा मिडिया र अदालतप्रति अविश्वासको विकास भयो भने देश बन्दैन भन्ने बुझाउनु पर्ने हो । पूर्ण विकृतिरहित क्षेत्र कुनै हुँदैन तर एकदुई उदाहरण समाएर सिङ्गो क्षेत्रलाई कालोमोसो दल्नुहुँदैन भन्ने सिकाउनुपर्ने हो ।
आज पुलिसभन्दा अगाडि बढेर कान्तिपुरले हिम्मत नगरेको भए आरजू देउबादेखि मञ्जु खाँडसम्मका फाइल नखुल्न पनि सक्थे । बलियो मिडिया नभएको भए ओली, देउबा र प्रचण्डको त्रिवेणीमा यो प्रसङ्ग त्यसै बगेर जान सक्थ्यो । मिडिया हुँदैनथ्यो भने देउबा र ओली मिलेर सरकार ढालिदिने थिए । मदन राई आज पुलिस कस्टडीमा पुगे, सेतोपाटीले हिम्मत नगरेको भए दर्जनौं बालबालिका यौनशोषणको शिकार बनिरहने थिए ।
विश्वभरको उदाहरण र अनुभव यही हो कि, भ्रष्टाचारविरुद्ध लड्ने सबैभन्दा ठूलो र शक्तिशाली नागरिक हतियार मिडिया नै हो ! लड्नेमात्र होइन, रोक्ने हतियार पनि यही हो । मिडियाले लेख्छ र राजनीति सकिन्छ भनेर पश्चिमी देशमा मान्छे सानो कमिशन खान पनि डराउँछन् । जुन दिन मिडियाले लेखे पनि कसैले पत्याउँदैन भन्ने देखिन्छ, लेखेर केही खुइल्याउँदैन भन्ने देखिन्छ, त्यो दिन के होला ? (सामाजिक सञ्जालबाट)