free website hit counter

पाँच बीमकलाई पुँजी वृद्धिको विशेष सुविधा

beemaadmin
२०८० बैशाख ३१, आईतवार

काठमाडौं । पुँजी वृद्धिको निर्णयसँगै बीमकहरु एकापसमा गाभिएका र गाभिनेक्रम जारी रहेका बेला नियामक निकाय नेपाल बीमा प्राधिकरणले पाँच वटा बीमा कम्पनीलाई पुँजीवृद्धि गर्न विशेष सुविधा दिएको छ । यस्तो सुविधा पाउनेमा एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एलआईसी नेपाल र एशियन लाइफ इन्स्योरेन्स रहेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन इन्डिया मुख्य प्रवर्द्धक रहेको एलआईसीलाई माग बमोजिम हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले सहमति दिने भएको छ । एलआईसी विशेष अवस्थामा ल्याएको ज्वाइन्ट भेञ्चर कम्पनी हो । यस कम्पनीको सञ्चालकले हकप्रदको माध्यमबाट पूँजी वृद्धि गर्छौं भनेको छ । कम्पनीलाई दोस्रो विकल्प पनि छैन, प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने । एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड छ । कम्पनीले हालको पुँजीको ८८ प्रतिशत अर्थात २ अर्ब ३५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय विशेष साधारणसभाबाट गराईसकेको छ । बीमा प्राधिकरणले हाल भएको पुँजीको एकतिहाइ भन्दा बढी हकप्रद सेयर जारी गर्न नदिने नीति लिए पनि एलआईसीलाई ८८ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिन लागेको हो । त्यस्तै, एशियन लाइफले चालु वर्षको नाफा र करिव ३३.३३ प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी ५ अर्ब बनाउने भएको छ । एशियन लाइफको पुँजी हाल ३ अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीले चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर र हकप्रद सेयर निष्काशन गरी पुँजी ५ अर्ब पुर्याउने तयारी गरेको छ । चालु वर्षको नाफाबाट बोनस र ३३.३३ प्रतिशत हकप्रद सेयर जारी गरेर पनि पुँजी ५ अर्ब नपुग्ने अवस्थामा कम्पनीले सेयरधनी कोषको पैसालाई पुँजीकृत गर्ने प्रस्ताव गरेको छ । एशियनको प्रस्तावप्रति बीमा प्राधिकरण सकारात्मक रहेको छ ।
एनएलजी इन्स्योरेन्सलाई पनि प्रस्ताव अनुसार हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । उसलाई १ अर्ब ४ करोड पुँजी थप्नुपर्ने हुन्छ । चालु आवको नाफाबाट बोनस सेयर निष्काशन गर्ने र नपुग रकममा हकप्रद सेयर जारी गर्ने कम्पनीको योजना छ । २०६२ सालसम्म नेशनल र एनएलजी एउटै थियो । बीमा समितिले निर्जीवनलाई छुट्याएपछि सहायक कम्पनी भनेर एनएलजी छुट्टिएको थियो । प्राधिकरणले नेपाल इन्स्योरेन्सको माग अनुसार सम्पत्ति बेचेर बोनस सेयर वितरण गरी पुँजी वृद्धि गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ ।
त्यस्तै प्रभु इन्स्योरेन्सले पुँजी वृद्धि गर्न विदेशी लगानीकर्ता भित्र्याउने नयाँ प्रस्ताव बीमा प्राधिकरणमा लगेको छ । उसले ३ महिना समय मागेकोले असार मसान्तसम्मको लागि समय दिने निर्णय भएको अध्यक्ष सिलवालले बताए । अरु कम्पनीले मर्ज गरेर वा सीमाभित्रको हकप्रद सेयर जारी गरेर तोकेको पुँजी पुर्याउँदैछन् । साउनसम्म पुँजी नपुर्याउने कम्पनीहरुलाई भने कारवाही गरिने उनले बताए ।

सम्बन्धित समाचार