काठमाडौं । नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमाको अनुदान बापत ७२ करोड रुपैयाँ निकासा गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले सरकारले अनुदान नदिएको भन्दै पोलिसी नै बन्द गरेपछि सरकारले पहिलो चरणमा सो मात्राको रकम निकाशन गर्ने भएको हो । सरकारले बजेटमार्फत कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत रकम अनुदान दिने घोषणा गरेको थियो । तर घोषणा गरेअनुसार सरकारले समयमै अनुदान नदिएपछि बीमा कम्पनीहरुले यो बीमा पोलिसी बिक्री बन्द गरेका थिए । सरकारले दिने भनेर घोषणा गरेर पनि नदिएको अनुदानमध्ये हाल करिब २५ प्रतिशत रकम मात्रै निकासा गर्ने भएको हो । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार सरकारले करिब ३ अर्ब अर्थात २ अर्ब ९४ करोड रुपैयाँ अनुदान दिन बाँकी थियो । जसमध्ये पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएसँगै अझै सरकारले २ अर्ब २२ करोड रुपैयाँ निकासा गर्न बाँकी छ । सरकारले पहिलो चरणमा ७२ करोड रुपैयाँ दिने भएको छ, बाँकी रकम भने सक्दो छिटो सल्टाउने निर्णय भएको छ, अध्यक्ष चंकी क्षेत्रीले भने । उनका अनुसार सरकारले विभिन्न चरणमा रकम निकासा गर्ने छ । अब दोश्रो चरणको रकम आगामी साउनभित्रमा निकासा गर्ने सम्भावना बढी रहेको अध्यक्ष क्षेत्रीले बताए । त्यस्तै, हाल निकासा भएको उक्त रकम नेपाल बीमा प्राधिकरणको खातामा जाने र त्यसपछि मात्रै कम्पनीहरुलाई वितरण गरिने क्षेत्री बताउँछन् । चरणवद्ध रुपमा रकम निकासा भएपनि कम्पनीहरुले बन्द गरेका कृषि बीमाको पोलिसी बिक्री सुचारु गर्ने भएका छन् । तर पशुपन्छी बीमालेख भने तत्काल बिक्री नगर्ने संघको मनसाय छ । ‘सरकारले दिनुपर्ने तीन अर्ब रुपैयाँ छ, अहिले ७२ करोडमात्रै आएको छ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ समेत रहेका क्षेत्रीले भने, कृषि बीमा पोलिसी बिक्री खुलाइए पनि पशुको अहिले सकिन्न होला, यसमा संघले छलफल गरेपछि मात्रै थप निर्णय गर्नेछ ।