free website hit counter

एलआईसी नेपालले ८६ प्रतिशत हकप्रद जारी गर्ने

beemaadmin
२०८० असार २०, बुधबार

काठमाडौं । चुक्ता पुँजी वृद्धिको निर्णयसँगै केही बीमकहरु एकापसमा गाभिएर बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याएका छन् भने केही बीककले हकप्रद शेयर जारी गरेर चुक्ता पुँजीको जोहो गर्दैछन् । एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रदको स्वीकृति दिएको प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लाई पनि हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ । प्राधिकरणले कम्पनीलाई चुक्ता पुँजीको ८६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । हाल एलआईसी नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । ८६ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब अर्थात ४ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा थोरै कम हो । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब पुँजी तोकिदिएको छ ।यसअघि बोनस र हकप्रदबाट पुँजी बढाउन दिँदैनौं भनेको प्राधिकरणले अहिले आफैले हकप्रदको लागि स्वीकृति दिँदै छ । प्रयास गर्दा गर्दै पनि पुँजी पुर्याउन नसकेका कम्पनीलाई मात्र हकप्रद र बोनसबाट पुँजी पुर्याउन दिइने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । हाल हकप्रदको लागि स्वीकृति पाएका दुई कम्पनीको हकमा भने प्राधिकरणले अधिकतम प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । निर्जीवन बीमा व्यवसाय गर्दै आएको एनएलजी इन्स्योरेन्स नेशनल लाइफ इन्स्योरेन्सको सब्सिडायरी कम्पनी भएको र कम्पनीको हालको सेयर संरचना साविकको बीमा समितिको ऐन तथा निर्देशन अनुसार नै भइरहेकोले पनि प्राधिकरणले एनएलजीलाई हकप्रद सेयर मार्फत पुँजी बढाउनको लागि बाटो खुला गरिदिएको प्राधिकरणका अध्यक्ष बताउँछन् । त्यस्तै, एलआईसी नेपाल एलआईसी इण्डियाको जोइन्ट भेन्चर कम्पनी हो, जसले एलआईसी नेपालको पुँजी बढाउन रकम थप्ने भएकाले प्राधिकरणले हकप्रदको स्वीकृति दिएको हो ।

सम्बन्धित समाचार