काठमाडौं । बीमा व्यवसाय बढ्दाे अवस्थामा छ । एक वर्षमा ८२ अर्ब, १ खर्ब, ८७ कराेड भन्दा बढी बीमा शुल्क यस व्यवसायबाट आर्जन भएकाे छ । नेपालमा बीमा बजार विस्तार हुँदै गर्दा झण्डै ४५ प्रतिशत जनसंख्या बीमाको दायरामा पुगेको छ । जीवन या निर्जिवन बीमाको बजार विस्तारसँगै मुलुकको अर्थतन्त्रमा ठूलै टेवा दिन थालेका छन् । चालु आर्थिक वर्षको असारसम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे ४० अर्ब रुपैयाँ भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३.५९ प्रतिशतले मात्रै धेरै हो । गत आर्थिक वर्षको असारसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको असारसम्ममा सबैभन्दा धेरै ५ अर्ब ५२ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १३.६१ प्रतिशत हो । कुल बीमाशुल्क आर्जनमा शिखरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यस अवधिमा सगरमाथा लुम्बिनीले ४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ११.२२ प्रतिशत हो । यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ४ अर्ब ५१ करोड ६६ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमा शुल्कको ११.१३ प्रतिशत हो । यस अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ४२ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सिलयले ३ अर्ब ३९ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड रुपैयाँ, नेकोले २ अर्ब ९२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले २ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको २।५१ प्रतिशत मात्रै हुन आउँछ ।
प्रभु इन्स्योरेन्सले व्यवसाय बढाउनेमा आफुलाई शीर्ष स्थानमा राख्न सफल भएको छ । कम्पनीले यस अवधिमा सबैभन्दा धेरै २२.२० प्रतिशतले बीमाशुल्क बढाउदै १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ पुर्याएको हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो । प्रभुपछि सानिमा जिआईसीको बीमाशुल्क १९.४८ प्रतिशतले बढेर २ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । यस्तै नेशनल इन्स्योरेन्सको १२.३२ प्रतिशत, शिखरको १०.२४ प्रतिशत, आइजीआई प्रडेन्सियलको ९.१४ प्रतिशत र युनाइटेड अजोडको ६.५३ प्रतिशतले बीमा शुल्क बढेको छ । सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने नेपाल इन्स्योरेन्स रहेको छ । नेपाल इन्स्योरेन्सको बीमाशुल्क ०.३७ प्रशितले मात्रै बढेर १ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यही अवधिमा नेकोले १ अर्ब ५८ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको थियो ।
जीवन बीमाबाट उठ्यो साढे एक खर्ब नजिक बीमाशुल्क
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० सम्ममा ४२ अर्ब, १ खर्ब, ३० करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार १४ जीवन बीमा कम्पनीहरुले एक वर्षमा सो बराबरको बीमाशुल्क संकलन गर्न सफल भएका हुन् । जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २६ प्रतिशत भन्दा धेरै रकम नेपाल लाइफ इन्स्योरेन्स एक्लैले संकलन गरेको छ । नेपाल लाइफले यस अवधिमा ३७ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २६.१२ प्रतिशत हुन आउँछ । नेपाल लाइफ पछि एलआईसी नेपालले १७ अर्ब ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको १२.२७ प्रतिशत हो । यस्तै नेशनल लाइफ इन्स्योरेन्सले पनि १६ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुलक आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ११.५४ प्रतिशत हो । सबै भन्दा कम बीमाशुल्क आर्जन गर्नेमा भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । प्रभु महालक्ष्मीले यस अवधिमा ३ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २.५७ प्रतिशत मात्रै हो ।
व्यवसाय बढाउँदै आइएमई लाइफ
जीवन बीमा अन्तर्गत नेपाल लाइफले आफ्नो अग्रतालाई कायम राख्दै एक्लैले ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २६.१२ प्रतिशत हो । गत आर्थिक वर्षको असारसम्ममा कम्पनीले ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । नेपाल लाइफले कुल बीमाशुल्क आर्जनमा आफ्नो अग्रता कायमै राख्दा सबैभन्दा धेरै बीमाशुल्क बढाउनेमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा आइएमई लाइफको बीमाशुल्क १८.२६ प्रतिशतले बढेर ४ अर्ब १८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो । यस्तै, नेशनल लाइफको १४.४९ प्रतिशत, सन नेपाल लाइफको ११.५९ प्रतिशत, सिटिजन लाइफको ८.५४ प्रतिशत, नेपाल लाइफको ५.०४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.६४ प्रतिशत, एशियन लाइफको २.०१ प्रतिशत, मेट लाइफको ०.५९ प्रतिशतले बीमाशुल्क बढेको छ । सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने सूर्याज्योति लाइफ रहेको छ । सूर्याज्योति लाइफको बीमाशुल्क यस अवधिमा ०।२० प्रतिशतले मात्रै बढेर ८ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधीमा सूर्याज्योति लाइफले ८ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।