free website hit counter

सिद्धार्थ बैंकको नाफा ३ अर्ब माथि

beemaadmin
२०८० श्रावण १९, शुक्रबार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्बभन्दा बढी नाफा कमाएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ। नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ। १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ।

सम्बन्धित समाचार