काठमाडौं । विराटनगर जुटमिल्समा कार्यरत ४६ जना कर्मचारीहरुले पारिश्रमिक नपाएको विषयलाई श्रम कार्यालय बिराटनगरले ध्यानाकर्षण भएको जनाएको छ ।
पारिश्रमिक नपाएका कर्मचारीहरुले उक्त कार्यालयमा पटक पटक पारिश्रमिक उपलब्ध गराउने आवश्यक प्रक्रिया मिलाइदिने व्यवस्था मिलाइदिन निवेदन दिएपछि कार्यालयले पछिल्लो पटक मंसिर १८ गते जुटमिल्स रानीका नाममा पत्राचार गर्दै २०७३ साल जेठ महिनादेखि आजसम्मको तलबभत्ता नपाएको भनी पटक पटक यस कार्यालयमा उजुरी परिरहेकोले यो पत्र प्राप्त भएको १५ दिनभित्र सबै श्रमिकको रकम भुक्तानी गरी हिसाव राफ साफ गर्न अनुरोध गरेको थियो ।
सो मितिभित्र पारिश्रमिक नदिएमा संस्थाको चल अचल सम्पत्ति रोक्का, बैंक खाता रोक्का गर्नुको साथै इजाजतपत्र समेत निलम्बन हुने चेतावनी दिएको छ । यसैगरी सो मितिमा श्रमिकको पारिश्रमिक भुक्तानी नगरे श्रमिकले पाउने रकम असुल उपर गरी सो रकमको छुट्टै दोब्बर जरिवाना गर्नेसम्मको कडा कारबाहीमा आफू उत्रिन पछि नपर्ने कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । उक्त पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालयदेखि जिप्रका मोरङसम्मलाई दिइएको छ ।
यता मजदुरहरु भने पारिश्रमिक उपलब्ध गराउन माग गर्दै उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री, राज्यमन्त्री, उद्योग सचिव, श्रम तथा रोजगारमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइसकेका छन् । जुट मिल्सका कर्मचारीहरुको पारिश्रमिक उपलब्ध गराउने तथा समस्या समाधान गर्नका लागि मिल्समा कार्यरत तारानाथ तिमिल्सिनाको नेतृत्वमा गएकाे टाेलीले आफ्ना मागहरु समेट्दै मन्त्रीदेखि सचिवसम्मलाई ज्ञापनपत्र बुझाएको थियो ।
श्रम तथा रोजगार कार्यालय बिराटनगरबाट जारी भएको पत्र