काठमाडौं । दशैंमा रातो मासुको खपत बढी हुने गर्छ । विशेषगरी, खसी, बोका, भेडा र च्यांग्राको मासु दशैंमा अन्य बेलाको तुलनामा ८० प्रतिशतसम्म बढी खपत हुन्छ । रातो मासुको अत्यधिक सेवनले तौल बढ्नुका साथै बोसो लाग्ने गर्छ । त्यसबाट बच्न सही तरीका अपनाउनु जरुरी छ ।
बोसोरहित मासु
प्रोटिनको मुख्य आधार मानिने रातो मासुमा बोसोको मात्रा अधिक हुन्छ । यस्ता मासु मनपरि तरीकाले सेवन गर्दा तौल बढ्छ । त्यसका लागि मासु काट्दै ध्यान दिनुपर्छ ।
सकेसम्म बोसो तथा छालारहित मासु छनोट गर्नुपर्छ । छातिको मासुमा बोसो कम हुन्छ ।
क्यालोरी घटाऊँ
बिनाडाइटिङ शरीरको तौल घटाउने अर्को उपाय भनेको क्यालोरीयुक्त खानेकुरा कम गर्नु हो ।
एक अध्ययनका अनुसार एउटा मानिसले दिनमा आफूले लिने पाँच सय क्यालोरी कम गर्दा सातामा करिब एक पाउन्ड घटाउन सकिन्छ ।
पौष्टिक आहारमा सन्तुलन
शरीरको अतिरिक्त तौल कम गर्न पौष्टिक आहारमा सन्तुलन आवश्यक छ । त्यसका लागि भिटामिन, मिनरल्सलाई सन्तुलित ढंगले ग्रहण गर्नुपर्छ ।
अमेरिकी कृषि विभागका अनुसार रातो मासु सेवन गर्ने मानिसले तौल बढ्न नदिन प्रशस्त मात्रामा दूध, दही, प्रोटिन, फलफूल, सागसब्जी र अनाज सेवन गर्नु जरुरी छ ।
बोसोरहित मासुका साथमा पोषकतत्वको दैनिक सेवनले कोलेस्ट्रोलको उतारचढावलाई नियन्त्रणमा मद्दत पुग्छ ।
मासु पकाउने विधि
मासु पकाउँदा त्यसको विधिबारे ध्यान दिन पनि उत्तिकै आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले मासुमा भएको सबै बोसो हटाउनुपर्छ ।
सकेसम्म गि्रल गरेको र उसिनेको मासुको सेवन उत्तम हुन्छ । यदि तपाईं तारेको वा पोलेको मासु खान चाहनुहुन्छ भने पनि त्यसमा भएको बोसो तथा चिल्लोपनालाई हटाउनु आवश्यक हुन्छ ।