काठमाडौं । खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान ८ः४२ मिनेटबाट ग्रहण सुरु भएको हो । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने बताइएको छ । विज्ञहरुका अनुसार ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकले भोजन गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ज्योतिषीहरूका अनुसार, ग्रहणका बेला भोजन, मैथुनलगायतका कार्य गर्नु हुँदैन । यी कार्य गर्दा अशुभ हुन्छ । तर, विज्ञानले भने यो कुरालाई मान्यता दिएको छैन ।
राशिअनुसार पनि ग्रहणको फाइदा र बेफाइदा देखिन्छ । कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने बताइएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ । राशिअनुसार शुभ अशुभ जे लेखिएको भए पनि नांगो आँखाले सूर्यलाई हेर्न भने नहुने कुरामा विज्ञान तथा धर्मशास्त्र दुवै सहमत देखिन्छ ।