काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको आज उपचारको क्रममा निधन भएको छ । निमोनियाको उपचारका लागि त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएका श्रेष्ठको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले बताएको छ । पाल्पाको रामपुर स्थायी घर भएका श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव, शिक्षा मन्त्रालयको सचिव, स्थानीय विकास मन्त्रालयको सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । सहसचिवसम्म रहँदा स्थानीय विकास मन्त्रालमा लामो समय बिताएका श्रेष्ठ सोही मन्त्रालयमा कार्यरत रहेकै अवस्थामा सचिव पदमा बढुवा भएका थिए । उनी मुख्य सचिवको दाबेदार समेत मानिन्थे । उनको निधनप्रति नेपाल जनस्वास्थ्य प्रशासक सघले समेत गहिरो दुःख व्यक्त गरेको छ ।
निमोनिया भएपछि श्रेष्ठलाई गत मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । उनलाई निमानिया वा स्वाइन फ्लु भएको आशंका चिकित्सकहरुले गरेका थिए ।