काठमाडौं । कवि श्रवण मुकारुङले रचना गरेको गीत- ‘पीरैपीरको भारी बोकी कता जाने तामाङ दाइ’ संगीत मर्मज्ञका बीच पहिलेदेखि नै चर्चित रहेको गीत हो । संगीतकार आभासको सांगीतिक एल्बम ‘ल्याम्पपोस्ट’मा संग्रहित यो गीत सन् २०११ मा पहोलोपल्ट सार्वजनिक भएको थियो । संगीतकार आभास आफैँले गाएको यस गीतमा नेपालको तामाङ समुदायको परिश्रमयुक्त संघर्षमयी जीवनलाई यथार्थपरक सौन्दर्यका साथ प्रस्तुत गरिएको छ ।
अब संगीतकार आभासले सोही गीतलाई ए.आइको प्रयोगबाट निर्माण गरी आफ्नो युट्युब च्यानलमा भिडियोसहित सार्वजनिक गरेका छन् । उसो त आभास आफ्ना रचनालाई खास प्रचार गर्न रुचाउँदैनन् । उनी ठान्छन्- ‘सृजनाले स्वभाविक रुपमा मान्छेको मनमा स्थान बनाउन सक्नुपर्छ ।’ तर अहिलेको समय उनले सोचे जस्तो सहज छैन । नयाँ सृजना दर्शक-श्रोताका मनमा पुग्नका लागि माध्यम पनि त चाहिन्छ । त्यही कटु यथार्थ अनुभूत भएर हुनसक्छ; संगीतकार तथा गायक आभास आफैँले सोही चर्चित गीतको म्युजिक भिडियो बनाएर आफ्नै च्यानलमा अपलोड गरेका छन् तर उनले दुई हप्ता पहिले अपलोड गरेको उनको भिडियोले खासै भ्यु भने पाएको छैन ।
उत्कृष्ट रचनाको कोटीमा परेको यो गीतको हालत यस्तो किन होला ? उनका सामु प्रश्न राख्दा उनी भन्छन्- ‘थाहा छैन; सायद प्रचारमा आफ्नै ध्यान र सोच पुगेन पनि होला । नत्र यो गीत सुनाउँदा त धेरैले अति नै रुचाउनु भएको हो ! अनि अर्को कुरा; यस्ता खाले गीतको रफ्तार अलिक मन्द गतिमा चल्ने र निरन्तर रुचाइने हुन्छ भन्ने पनि लाग्छ… एकछिनको मौनता पछि उनी हाँस्दै थप्छन्- आत्म सन्तुष्टिको एउटा बाहना !’
हामीले उनलाई सोध्यौं; भिडियो कसरी बनाउनु भयो ? उनले भने- ‘नितान्त आफ्नै तरिकाले । अहिले संसारभर चर्चित रहेको प्रविधि प्रयोग गरेर । मानव शक्तिको प्रयोग गरेर भिडियो निर्माण गर्दा लाखौं खर्च लाग्छ । मोडल र प्राविधिकहरूको खर्च हामीले धान्न सक्ने अवस्थाको हुँदैन । त्यसैले गीत सुनाउने सरल उपाय खोज्दा ए.आइको प्रयोग गर्न पुगेँ।’
उनले प्रयोग गरेको अहिलेको अत्याधुनिक प्रविधि ‘आर्टिफिसियल इन्टलिजेन्स्’ (ए.आइ)का बारेमा पनि हामीले उनीसँग जिज्ञासा राख्यौं- तपाईंले अत्याधुनिक प्रविधि प्रयोग गरेँ भन्नुभएको छ । तपाईं आफूलाई सृजनशील भन्नुहुन्छ यो य साह्रै प्राविधिक भएन र ? उनको उत्तर थियो- ‘हो यो अति प्राविधिक तरिका नै हो तर आफ्नो रचना दर्शक-श्रोता सामु पुर्याउने उपाय पनि हो । संगीत भावनात्मक विषय हो तर प्रविधिबाट संगीतलाई अलग्याउन सकिन्न।’