free website hit counter

वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब बढीको व्यापार

beemaadmin
२०८१ बैशाख १४, शुक्रबार

काठमाडौं । नेपालमा केही गर्ने भन्दा पनि विदेशै गएर काम गर्ने संस्कारको विकास हुँदा गाउँघर युवाविहीन अवस्थामा पुगेका छन् । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वैदेशिक रोजगार बीमालेखबाट सवा २ अर्ब रुपैयाँबराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनीले यो ९ महिनामा वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब २८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या २० लाख ४२ हजार ८३२ रहेको छ। समीक्षा अवधिसम्म वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेखबाट ५६ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो ९ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ४९ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको आइएमई लाइफले यस बीमालेखबाट २६ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यसैगरी फागुनसम्म वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले २१ करोड ७६ लाख रुपैयाँ, नेसनल लाइफले २० करोड १६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १६ करोड २५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १५ करोड ७१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। वैदेशिक रोजगार बीमालेखबाट सिटिजन लाइफले ८ करोड ७ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १७ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

सम्बन्धित समाचार