काठमाडौं । निर्जिवन बीमा व्यवसायमा आफूलाई अब्बल स्थापित गरेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड २ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २६.२३ प्रतिशत बढी हो । गत आवमा कम्पनीले ३० करोड ९१ लाख रुपियाँ खुद नाफा कमाएको थियो । चालू आवको चैत मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क १६.०६ प्रतिशत र कुल आम्दानी ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै, खुद दाबी भुक्तानी २१.६९ प्रतिशतले र कुल खर्च २.५७ प्रतिशत घटेको छ । खुद बीमाशुल्क तथा कुल आम्दानी बढेको र दाबी भुक्तानी तथा खर्च घटेका कारण कम्पनीको नाफा बढेको वित्तीय विवरणले देखाएको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ४.७ रुपियाँ बढेर १९.६० रुपियाँ पुगेको छ । चालू आवको ९ महिना अर्थात् चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९.४९ रुपियाँ रहेको छ । २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ६५ करोड र महाविपत्ति कोषमा १३ करोड ५१ लाख रुपियाँ सञ्चित छ ।