free website hit counter

अभिकर्तालाई निरुत्साहित पार्दै प्राधिकरण

beemaadmin
२०८१ जेष्ठ १३, आईतवार
  • नुरराज कँडेल

बीमा कम्पनीहरुको जनचेतनाका संवाहक बीमा अधिकर्ताहरु देशका विभिन्न कुना काप्चामा गई बीमा बजार विस्तार गर्दै गइरहेका छन् । स्वरोजगार रुपमा काम गर्ने अभिकर्ताहरुको कारणले गर्दा बीमाको पहुँच हालसम्म ५६.७ प्रतिशतसम्म पुग्न सफल भएको छ । यो म्यादी बीमा र वैदेशिक रोजगार बीमा सहितको तथ्यांक हो भने सावधिक बीमातर्फ अझै पनि बीमाको पहुँच १७.२ प्रतिशतमा सीमित छ । कुनै बेला थुप्रै समयसम्म ४÷५ प्रतिशतमा रोकिएको यो व्यवशाय लाखौंको संख्यामा कार्यरत बीमा अभिकर्ताहरुको सक्रियता र उनीहरुले फैलाएको चेतनाको फलस्वरुप बीमाको दायरा फराकिलो हुन पुगेको हो ।

रोजगारी बढाउने कि खोस्ने ?
हाम्रो जस्तो विकासोन्मुख देशमा दक्ष जनशक्ति उत्पादन गरी रोजगारीको क्षेत्र फराकिलो पार्दै लैजानुपर्छ । रोजगारीका लागि लाखौंको संख्यामा विदेशीएका युवा पुस्तालाई रोकेर उत्पादनमूलक क्षेत्रमा लगाउन सक्नुपर्छ जसले गर्दा देशको अर्थतन्त्रमा टेवा पु¥याउन सम्भव हुन्छ । कुनै पनि संघ संस्थाले व्यक्तिको क्षमताअनुसारको रोजगारीको मार्ग प्रशस्त गर्नु जरुरी हुन्छ । जसले गर्दा समाजमा सकारात्मक सन्देश दिई काम गर्नेहरुलाई आत्मसम्मानको आभाष हुन्छ र कार्यक्षमताको विकास हुन्छ ।

नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योन्स पोलिसी गाइडलाइन्स २०२४ जारी गरेको छ । जसको फलस्वरुप बीमकहरुले डिजिटल माध्यमबाट बीमालेख बिक्री गर्दा कुनै मध्यस्थकर्ताको आवश्यकता नपर्ने देखिन्छ । यसको प्रत्यक्ष असर बीमा अधिकर्तालाई पर्ने निश्चित छ । समयको मागअनुसार सजिलो, भरपर्दो र प्रविधिमैत्री बनाउँदै जानु राम्रो पक्ष हो । तर यसको असर कसलाई कति पर्छ भन्ने कुरा पनि मूल्यांकन गर्नु जरुरी छ । बीमा प्राधिकरण जस्तो जिम्मेवार निकायले निर्णय लिएर निर्देशन दिँदा सरोकारवालाहरुको समस्या र समाधानमा केन्द्रीत भई सरसल्लाह गर्न जरुरी छ ।

राज्यको अर्थतन्त्रमा टेवा
बीमा अभिकर्ताले जति आम्दानी गर्दछन् त्यसको १५ प्रतिशत कर राज्यलाई बुझाउनु पर्दछ । बीमा भिकर्ताको आम्दानीबाटै वार्षिक अरवौं राज्य कोषमा जम्मा भई राज्यको अर्थतन्त्रमा ठूलो टेवा पुगिरहेको छ ।

बैङ्कोस्योरेन्सबाट पाठ सिक्ने कि ?
विभिन्न संघ संस्था लगायत बैंकहरुलाई पनि बीमालेख बिक्रीको इजाजत दिइएको थियो । विशेष गरी बैंकमा ग्राहक ऋण लिन जाँदा बीमा प्रस्ताव गरिन्थ्यो त्यसमा ग्राहक दुविधामा पर्दथे । बीमा नगरे ऋण नपाइने, बीमा गरे किस्ता बुझाउनै हम्मे पर्ने अवस्था थियो । जे भए पनि बीमा गर्न बाध्य हुन्थे । बैंकका ग्राहकले ऋणबापतको रकम बीमामा खर्च गरेर व्याज तिर्नै समस्या भइरहेको सन्दर्भमा बीमा शुल्क नियमित गर्ने सम्भावना कम थियो भने बीमितले बीमाको उद्देश्य नै बुझेको हुँदैनथ्यो । किनकि उसलाई बैंकले त्यसको बारेमा बताएकै हुँदैनथ्यो । फलस्वरुप त्यसरी जारी भएका अधिकांश बीमालेख निश्कृय भए भने २÷३ वर्ष नियमत भएका बीमालेखहरु पनि समर्पणमा गए । यसले के प्रष्ट पार्दछ भने यदि त्यस ठाउँमा दक्ष बीमा अभिकर्ता भएको भए यस्तो समस्या कम हुन्थ्यो ।

दुई महिना पहिलेको घटना हो । केही व्यक्ति मलाई खोज्दै आएका थिए । कारण त्यही बैङ्क्योस्योन्स रहेछ । बीमि भन्छन्, हामीलाई बैंकले पनि ठग्यो, इन्स्योरेन्सले पनि ठग्यो । त्यो बैंक नेपालको क वर्गको थियो भने इन्स्योरेन्स पनि पुरानै थियो । मैले उनीहरुलाई बीमाका बारेमा केही कुरा सोधें उनीहरु अक्क न बक्क भए । उनीहरुले खरिद गरेको बीमालेख हेरें । सम्पूर्ण सुविधाहरु जसमा एडीबी, पीटीडी, सीआई, एमआईबी, एफइबी लगायतका सुविधाहरु उपलब्ध थिए । ती सुविधाहरुको बारेमा उनीहरुलाई बेलिविस्तार लगाइदिएँ, त्यसपछि उनीहरु अल्लि बढी आशावादी भए । सबैले प्रथम बीमा शुल्क मात्रै बुझाएका रहेछन् । कसैको २ वर्ष बाँकी त कसैको ३ वर्ष बुझाउन बाँकी रहेछ । तर उनीहरुको गुनासो भने आफू ठगिएको समाचार छपाउने थियो । तर मैले उनीहरुलाई इन्स्योरेन्सको विषयमा बुझाएर आवश्यक परेमा यतिसम्म ऋण लिन मिल्छ भनेपछि उनीहरु खुसी भएर त्यही अनुसार अघि बढ्ने भए । अब यस ठाउँमा बैंकको सट्टामा बीमा अभिकर्ता भएको भए नियमित सम्पर्कमा रहन्थे, समस्या बुज्थे र समाधानको बाटो खोज्थे । जसले गर्दा बीमालेख समर्पण कम हुन्थ्यो र चुक्ता बीमालेखमा पनि परिणत हुन्थेन । यसैकारण बीमा अभिकर्ताको भूमिका बीमा व्यवसायमा उल्लेखनीय देखिन्छ ।

बीमकको सल्लाहकारको भूमिका कसले निभाउने ?
बीमकहरुको प्रथम जोखिम मूल्यांकन गर्ने भनेको बीमा अभिकर्ताले हो । तर ग्राहकले आफैं बीमा प्रस्ताव गर्दा बीमकले कसरी जोखिमको मूल्यांकन गर्ला ? बीमितको पारिवारिक इतिहास के होला ? शैक्षिक र भौतिक अवस्था के होला ? बीमितले भरेको प्रस्ताव फारम ठिक होला कि नहोला ? बीमित ग्याङ फाइटर, दुव्र्यशन लगायतमा फसेको छ÷छैन त्यसको जानकारी कसले पाउने ? बीमालेखको मिस सेलिङ भइरहेको छ कि छैन होला ? अनलाइन बीमालेख खरिदमा यस्ता विषयमा छायाँमा पर्नसक्छ । जसले बीमालेखको मिस सेलिङ हुने निश्चित छ । यदि अभिकर्तामार्फत् प्रस्तावकको बीमा गरेमा अभिकर्ताले केही न केही तथ्य खोलेर अण्डरराइडिङलाई सहयोग पुग्दछ । आफैं बीमालेख खरिद गरेमा बीमालेख नियमित र सक्रिय नहुने निश्चित प्राय हुन्छ । किनकि बीमकले बिमितलाई अभिकर्ताले जस्तो नियमित सम्पर्क गर्दैनन् र बीमित अनविज्ञ भई बीमाशुल्क नबुझाई बसेर बीमालेख निश्क्रिय पारिदिन्छन् । जसले गर्दा कुनै घटना भएमा बीमालेखको सम्पूर्ण सुविधाबाट बञ्चित भई बीमा बजारको नकारात्मक प्रचार गर्छन् । यसैगरी बीमा लेखको चुक्ता बीमांक भनेको के हो ? समर्पण मूल्य भनेको के हो ? बीमालेख धितोमा ऋण भनेको के हो ? यो सबै बुझाउन काम बीमा अभिकर्ताले गर्दछन् ।

सम्बन्धित समाचार