free website hit counter

व्यवसाय बढे पनि बीमाको दायरा बढेन

beemaadmin
२०८१ जेष्ठ २४, बिहीबार

काठमाण्डौ । चेतनाको अभाव तथा आर्थिक मन्दीले गर्दा बीमाको दायरा बढाउने प्रयास सफल हुन सकेको छैन । बीमाको दायरा ४३.५६ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीम प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरा ४३.५६ प्रतिशत जनसंख्यामा पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा बीमाको दायरा ०.१८ प्रतिशतले घट्न पुगेको छ । गत आवको सो अवधिसम्म बीमाको दायरा ४३.६४ प्रतिशत जनसंख्यामा पुगेको थियो । प्राधिकरणको तथ्याङ्कअनुसार अझैपनि आधा भन्दा बढी जनसंख्या बीमाको दायरामा छैनन् । अर्थात् आधा भन्दा बढी जनसंख्याले बीमा गरेका छैनन् । नेपाल बीमा प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न प्रयासहरु गरेपनि प्राधिकरणको प्रयासले सफलता पाउन सकेको छैन । चालु आर्थिक वर्षमा मात्रै बीमा प्राधिकरणले स्थानीय तहसम्म बीमाको पहुँच पुर्याउने हेतुले लघुबीमाको लाइसेन्स बाँडेको थियो । जसअनुसार हाल ३ लघु जीवन बीमा र ४ लघु निर्जीवन बीमा गरी कुल ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । लघुबीमा कम्पनीहरुले पनि आफ्नै तवरमा व्यवसाय बढाइरहेका छन् । तर प्राधिकरणले केही वर्षदेखि बीमाको दायरा बढाउने प्रयास गरेपनि गत वर्षको तुलनामा झनै घट्दै गइरहेको छ । गत वर्ष देशमा अर्थतन्त्र सुस्ताउँदाका वाबजुत पनि बीमाको दायरा हालको तुलनामा बढी नै थियो । बीमा प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । साथै, बीमा कम्पनीहरुलाई पनि विभिन्न प्रदेशमा बीमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्न निर्देशन दिदैं आइरहेको छ । तरपनि आधा भन्दा बढी जनसंख्या बीमाको दायरा बाहिर छन् । प्राधिकरणले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नहुनु र सबै क्षेत्रलाई समेट्ने गरी सो क्षेत्रका जनसंख्यालाई बीमाको दायरामा ल्याउन लघुबीमा लाइसेन्स बाँडेको प्राधिकरणको योजना सफल हुन सकेको छैन । अझैपनि देशको अर्थतन्त्रमा सुस्तता कायम हुँदा बीमाको दायरा भनेजस्तो बढ्ने नसकेको बीमा प्राधिरकणले जनाएको छ । आर्थिक गतिविधिमा गतिशिलता नआउनु, रोजगारीको अवसर सिर्जना हुन नसक्नु र कोभिडपश्चात् बन्द भएका साना तथा घरेलु उद्योगहरु सञ्चालनमा आउन नसक्दा बीमाको दायरा बढ्न नसकेको बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए । अर्थतन्त्र विस्तारै सुधारिँदै गएपछि बीमा गर्नेको संख्या बढ्ने र सोही अनुसार बीमाको दायरा जनसंख्या प्रतिशत समेत बृद्धि हुने सिलवालको भनाई छ । बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घटेपनि बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन भने बृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनासम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो प्रिमियम रकम गत वर्षको सोही अवधिसम्मको तुलनामा ५.२७ प्रतिशतले बढी हो । गत वर्षको यस अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब ४६ अर्ब ७९ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । चालु आवको वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरुको व्यवसाय ६.४४ प्रतिशत बढेको छ भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १.१६ प्रतिशतले मात्रै बृद्धि भएको छ । जीवन बीमकहरुले १ खर्ब २१ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् भने निर्जीवन बीमकहरुले ३३ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सो अवधिसम्म जीवन बीमालेख संख्या ०.५१ प्रतिशतले मात्रै बृद्धि भएको छ भने निर्जीवन बीमालेख संख्या भने ५.४५ प्रतिशतले बृद्धि भएको छ । वैशाससम्म जीवन बीमा कम्पनीहरुमा कायम बीमालेख संख्या १ करोड ३९ लाख ५४ हजार ५७१ रहेको छ । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुमा पोलिसी संख्या २४ लाख ७८ हजार ७२७ रहेको छ । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अर्थात् नयाँ व्यवसाय ४।३२ प्रतिशतले बढेको छ भने नविकरण बीमा शुल्क आर्जन ६।९९ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष नयाँ व्यवसायमार्फत २३ अर्ब ३२ करोड प्रिमियम संकलन गरेको जीवन बीमकहरुले यस अवधिसम्म २४ अर्ब ३३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

सम्बन्धित समाचार