free website hit counter

यस्ता कारणले घट्दैछ सुनको मूल्य

beemaadmin
२०८१ असार २, शनिबार

काठमाडौं । उच्च रेकर्डमा पुगेको सुनको भाउ अहिले घट्दो क्रममा छ । गत साता प्रतितोला एक लाख ४५ हजार रूपैयाँ पुगेको सुन यो साता भने सस्तिएको हो । नेपाली बजारमा यो साता सुनको मुल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको तुलनामा यो साता सुन तोलामा ३ हजार ८०० रूपैयाँले गिरावट भएको छ । साताको पहिलो दिन नै सुनको भाउ भारी गिरावट भएको थियो । आइतबार सुन तोलामा ४ हजार रूपैयाँले सस्तिएर प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा झरेको थियो । त्यसपछि, सुनको भाउ साताको तेस्रो दिन, मंगलबारसम्म स्थिर रह्यो । बुधबार भने सुन सामान्य रूपमा महंगिदा प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ पुग्यो । त्यसपछि, सुनको मूल्य पाँचौं दिन बिहिबार फेरि स्थिर रह्यो । सो मुल्य साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार घटेर प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँ कायम भयो। महासंघका अनुसार यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार प्रतितोला एक हजार ८२५ रूपैयाँ रहेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार ८०० रुपैयाँमा झर्यो । गत साताको शुक्रबार भने चाँदी तोलाकै एक हजार ९०० रूपैयाँ पुगेको थियो । गत साताको तुलनामा यो साता चाँदी तोलामा १०० रूपैयाँले ओरालो लागेको हो । यो साता बिश्व बजारमा सुनको मुल्य घट्दो क्रममा रहेकाले नेपाली बजारमा पनि यसको प्रभाव परेको छ । अमेरिकी डलरको बिनिमय दरमा देखिएको मजवुति र अमेरिकी रिजर्भ बैंक फेडले सार्वजनिक गर्न लागेको अमेरिकी बजारको मुल्यवृद्धि दरमा देखिएको नियन्त्रण लगायतका कारणले सुनको मुल्य घटाउन सहयोग पुगेको बिश्लेषकहरुले बताएका छन्। विश्व बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भयो । यस दिन सुन प्रति अउन्स २८ डलरले बढेर २ हजार ३३० डलरमा कारोबार भयो ।

सम्बन्धित समाचार