काठमाण्डौ। आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड एलआईसीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको थियो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९–८० को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०–८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। साधारण सभा प्रयोजनको लागि कम्पनीले गत जेठ ३२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन योग्य हुनेछन् ।