free website hit counter

४० प्रतिशतले घट्यो सुन आयात

beemaadmin
२०८१ असार २५, सोमबार

काठमाडौं । एकपछि अर्को गर्दै मूल्यमा ऐतिहासिक रेकर्ड काय गरेको पहेँलो धातु सुनको आयात एघार महिनामा ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँबराबरको दुई हजार ६५१ केजी सुन आयात भएको छ । गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो । यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुँदा आयातमा समेत कमी आएको हो । गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो ।
यसैबीच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ । विभागको तथ्यांकअनुसार चालू आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपियाँबराबरको चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ३३ करोड ९७ लाख ६३ हजार रुपियाँबराबरको चाँदी आयात भएको थियो ।
स्थानीय बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एक हजार रुपियाँ बढेर एक लाख ४५ हजार चार सय रुपियाँ पुुगेको छ । शुव्रmबार प्रतितोला एक लाख ४४ हजार चार सय रहेको सुन आइतबार बढेर एक लाख ४५ हजार चार सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार ३९२ अमेरिकी डलर पुगेको छ । गत असार ७ मा सुनको मूल्य बढेर एक लाख ४४ हजार सात सय रुपियाँमा करोबार भएकोमा त्यसपछि निरन्तर घटेर एक लाख ४१ हजार छ सय रुपियाँमा झरेको थियो । गत सातादेखि सुनको मूल्य पुनः बढ्दै गएर आइतबार नयाँ मूल्य कायम गरी उच्च रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । यसैबीच चाँदीको मूल्य तोलामा २० रुपियाँ बढेको छ । शुव्रmबार प्रतितोला एक हजार ८७० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार बढेर एक हजार ८९० रुपियाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार