पाल्पा । बगनासकाली गाउँपालिका पाल्पा जिल्लाको तानसेन बजारबाट ७ किमि उत्तरमा रहेको छ । स्थानीय तहको पुनसंरचना हुँदा साविकका ९ वटा गाँउविकास समितिहरुलाई ९ वटामा समायोजन गरी नेपाल सरकारको निणर्य अनुसार यो गाँउपालिका स्थापना भएको हो । यो गाउँपालिकाको मूख्य विशेषता भनेकै विभिन्न कला, सस्कृति, भाषा, धर्म, जातजातिहरुको समिश्रण हो । यस गाँउपालिका भित्र धेरै उर्वर कृषि भूमि, सामूदायिक वन क्षेत्र, दुर्लभ वन्यजन्तु र चराचुरुगीहरु रहेको छ । यहाँ कुमाल, बोटे तगायत बाहुन, क्षेत्री, मगर, तथा दलित जातिय बाहुल्यता रहेको बताइन्छ । यस क्षेत्रले कृषि तथा धार्मिक पर्यटनका माध्यमबाट समाजको परिवर्तन हुने अपेक्षा राखेको छ ।
केही दिनअघि गाउँपालिकाकै पहलमा दर्लम डाँडामा प्रथम साँस्कृतिक महोत्सव तथा विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरेको यस गाउँपालिकाले एक घर एक धारा अभियानअन्तर्गत करिब ४० प्रतिशत नागरिकहरुको घरमा खानेपानी पुर्याएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार, आफू निर्वाचित भएर आउँदा मुख्यतः खानेपानीको समस्या सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको हुँदा यसैलाई मुख्य प्राथमिकतामा राखेर काम अगाडि बढाएको र दुई वर्षको अवधिमा ४० प्रतिशत नागरिकका घरमा खानेपानी पुर्याएको र बाँकी घरधुरीमा पनि आफ्नै कार्यकालमा खानेपानी पुर्याउने लक्ष्यका साथ काम अगाडि बढाएको बताउनुभयो ।
उहाँकाअनुसार, बेरोजगारी समस्या समधान गर्नका लागि कृषि र पशुपालनालाई बढवा दिई पकेट खेती कार्यक्रम ९ वटै वडामा सञ्चालन गरिएको छ । जसमा गाउँपालिकाको प्राविधिक र आर्थिक सहयोग रहेको छ । समूहगत १ सय ५० र व्यवसायिक करिब ४० जनाले उक्त सुविधा प्रयोग गरी कृषि र पशुपालनलाई अगाडि बढाएका छन् । कृषकहरुले उत्पादन गरेका सबै उत्पादनहरुलाई बजारसम्म पुर्याउनका लागि ढुवानीका लागि गाउँपालिकाले प्रतिकेजी २ रुपैयाँका दरले उत्पादनमा आधारित ढुवानी अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकाको उक्त अनुदानका कारण कृषकहरुमा उत्पादन गर्ने होडबाजी समेत बढेको छ । जसका कारण अहिलेसम्म यो सुविधा प्रयोग गरेर कृषकहरुले करिब ४ करोड रुपैयाँ बराबरको तरकारीजन्य उत्पादन गाउँपालिकाबाट निर्यात गर्न सफल भएका छन् । अध्यक्ष बस्यालले उत्पादनमा आधारित ढुवानी अनुदान दिने नेपालको पहिलो गाउँपालिका हुन पुगेकोमा गौरव गर्नुभएको छ ।
कृषिकै अभिन्न अंग मानिने पशुपालन व्यवसायमा युवा आकर्षण बढाउन र शिक्षित युवाहरु विदेश जाने होडबाजीलाई रोक्नका लागि डिप्लोमा उत्तिर्ण गरेका युवाहरुलाको प्रमाणपत्र धितो राखेर दुई वर्षका लागि निव्र्याजी तथा ५ प्रतिशत छूटसहित ४ लाखका दरले ऋण उपलब्ध गराउने गाउँपालिकाको कार्यक्रमले गर्दा युवाहरु लाभान्वित हुन पुगेका छन् । जुन कार्यक्रमप्रति युवा आकर्षण बढ्दै गएको छ ।
नेपाल बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालनको व्यवस्था गाउँपालिकाले मिलाएको अध्यक्ष बस्यालले बताउनुभयो । बगनासकाली गाउँपालिकालाई खरमुक्त गाउँपालिका घोषणा गर्ने अभियानलाई अगाडि बढाइएको छ । जसका लागि २ सय ४९ घर धुरीलाई खर हटाई टिनको छाना लगाउनका लागि गाउँपालिकाले सहयोग गरेको छ । बाँकी रहेका घरधुरीलाई पनि यही पुस महिनाभित्रै खरमुक्त बनाउने तयारी रहेको र त्यसपछि खरमुक्त गाउँपालिका घोषणा गर्ने अध्यक्ष बस्यालले बताउनुभयो ।

बाह्रै महिना ९ वटै वडामा सडक सञ्चालन हुने अवस्था निर्माण गर्न सफल भएको उक्त गाउँपालिकाका ९ वटै वडामा साना ठूला गाडीहरु सञ्चालन हुन थालेका कारण स्थानीय लाभान्वित हुन पुगेका छन् । गाउँपालिकाले ठूला सडकमा ८ मिटर र साना सडकमा ६ मिटर सडक चौडा गर्ने मापदण्ड समेत निर्धारण गरी कार्यान्वयनमा ल्याएको छ । ९ वटै वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाएको गाउँपालिकाले ४ वटा वडामा शुरु गरिसकेको र बाँकी ५ वटा वडामा छिट्टै शुरु हुने ती वडाहरुमा ल्याब भने सञ्चालनमा आइसकेका कारण स्थानीय स्वास्थ्य सेवा आफ्नै घर टोलमा पाउन थालेका छन् ।
गाउँपालिकाभित्र कुनै पनि महिला घरमा सुत्केरी नगराउने कार्यक्रम कार्यान्वयनमा ल्याउनका लागि स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा गाउँपालिका गम्भीरतापूर्वक लागेको छ । गत वर्ष चैत मसान्तमा बालमैत्री गाउँपालिका घोषणा गरेर कार्याक्रम कार्यान्वयनमा ल्याइसकेको उक्त गाउँपालिकाले ३२ वटा निजी तथा सरकारी शिक्षण संस्थामा उक्त कार्यक्रम सञ्चालन ल्याइसकेको र बाँकी ४ वटा विद्यालयमा चाँडै नै सो कार्यक्रम लागू हुने अध्यक्ष बस्यालले बताउनुभयो ।
प्राविधिक जनशक्ति गाउँपालिकाभित्रैका युवाबाट उत्पादन गर्ने सोचका साथ गाउँपालिकाले प्राविधिक शिक्षालय गत वैशाखबाट सञ्चालन ल्याइसकेको छ । हाल त्यो शिक्षण संस्थामा ३२ जना स्थानीय युवाहरु शिक्षा लिइरहेका छन् ।
सडक सञ्जाल ९ वटै वडामा पुर्याएको उक्त गाउँपालिकाले सडक स्तरोन्नतिका लागि आवश्यक बजेट र कार्यक्रम सञ्चालनमा ल्याएको छ । सबै क्षेत्रको साथ सहयोग पाएर नै गाउँपालिकाले सोचेअनुसार विकास निर्माणमा अगाडि बढ्न सकेका गाउँपालिकाका अध्यक्ष बस्यालले बताउनुभयो ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकको साथ सहयोगबाटै गाउँपालिकालाई अगाडि बढाउन सफल भएको र बाँकी काम पनि यही गतिमा अघि बढाउने सोचमा रहेको उहाँको भनाई थियो । रोचक पक्ष त के छ भने स्थानीय जनप्रतिनिधिहरुबीच सेवा सुविधा बढाउने र लिने होडबाजी नै चलिहरेको अवस्थामा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले भने आफूले पाएको हालसम्मको पारिश्रमिक ६ लाखमा उल्टै दुई लाख थपेर ८ लाख रुपैयाँ विद्यालयको शैक्षिक गुणस्तर उकास्न र अन्य सामाजिक कामका लागि प्रदान गरेर उदाहरणीय काम गर्नुभएको छ । आफू जनताको प्रतिनिधि भएर जनताको सेवा गर्नका लागि राजनीति गरेको हुनाले पारिश्रमिक नलिएको र यसमा आफूलाई सन्तुष्टि मिलेको उहाँको भनाई थियो । अध्यक्ष बस्यालको जस्तै कदम अन्य जनप्रतिनिधिहरुले पनि लिइदिए सम्बन्धित नागरिकहरु कति खुशी हुने थिए होलान् ।