काठमाडौं। नेपाल र भारतका निजी क्षेत्रका दुई ठूला बैंक नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबीच साझेदारी भएको छ।
आइसीआइसीआइ बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्नका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेको छ। बैंकले नेपाल प्रमुख नियुक्त गर्ने प्रक्रियासमेत थालिसकेको छ।
नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको आइसीआइसीआइ बैंकले नबिल बैंकलाई लगानी र ब्यापार लगायतका क्षेत्रमा सघाउन यस्तो साझेदारी गरेको बुझिएको छ ।
सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स) र ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्ने बताइएको छ ।
सम्झौतापत्रमा नबिलका तर्फबाट शाह र आइसीआइसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्ने छन्।