काठमाडौं । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको सेवा सञ्चालन अनुमतिपत्रको अवधि सकिन अब ६ दिन मात्रै बाँकी रहँदा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विषयगत मन्त्रालय र कम्पनीलाई पत्र पठाएको छ । अनुमतिपत्रको अन्तिम अवधिसम्म पनि एनसेलले तोकिएको शुल्कसहित नवीकरण नगरेपछि प्राधिकरणले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयलाई जानकारीका लागि पत्र पठाएको हो । साथै, प्राधिकरणले समयमा नै शुल्क भुक्तान गरी अनुमतिपत्र नवीकरण गर्न एनसेल आजियाटा लिमिटेडलाई पनि पत्र काटेको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार प्राधिकरणमा एनसेललले आंशिक शुल्क बुझाएर नवीकरणको लागि किस्ता सुविधा माग गरेको छ । तर, एनसेलको अनुमतिपत्र अवधि सकिन थोरै दिनमात्रै बाँकी रहेको र उसले नवीकरण प्रक्रिया अगाडि नबढाएकोले प्राधिकरणले सो विषयमा जानकारीका लागि मन्त्रालयलाई पत्र पठाइएको हो । विशेषगरी शेयर खरिद–बिक्री र फ्रिक्वेन्सी लगायतका विषयमा लामो समयदेखि विवादित बन्दै आएको एनसेलको विषयमा पछिल्लो समय सरकारको तर्फबाट अनुसन्धान समिति बनाएर गरिएको छानबिनले ८५ अर्ब रुपैयाँ दायित्व जोडिएका विभिन्न मुद्दाहरू अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । एनसेलले नवीकरण शुल्कको लागि सुविधाको माग गरेतापनि राज्यलाई तिर्नुपर्ने कर तथा शुल्कको विषयमा भने केही उल्लेख गरेको छैन । एनसेलको नवीकरण शुल्कको विषयमा जानकारी दिएपनि प्राधिकरणले समेत एनसेलको अदालतसँग जोडिएका दायित्व र त्यसको फरफारकको विषयमा मन्त्रालयलाई विशेष सुझाव दिएको छैन । दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली, २०५४ मा भएको व्यवस्थाअनुसार यही भदौको १५ गते एनसेलको सेवा सञ्चालन अनुमतिपत्रको अवधि सकिँदैछ । २०६९ जेठ १ गते राजपत्रमा प्रकाशित भएको सूचनाअनुसार एनसेलले गएको जेठ १५ गतेभित्र अनुमतिपत्र नवीकरण लागि २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्थ्यो । तर, एनसेलले ४ अर्ब रुपैयाँमात्रै रकम बुझाएपछि अब एनसेलले लाग्ने शुल्कमा थप १५ प्रतिशत शुल्क थप गरेर भदौ १५ गतेभित्र नवीकरण शुल्क बुझाउनुपर्ने हुन्छ । एनसेलले यही १५ गतेसम्म पनि दूरसञ्चार ऐन, २०५३, दूरसञ्चार नियमावली, २०५४ र राजपत्रमा प्रकाशित सूचनाअनुसार शुल्क बुझाएर नवीकरण प्रक्रियामा प्रवेश गरेन भने अनुमति पत्र नै खारेज हुन्छ । एनसेलले समयमा नै अनुमतिपत्रको नवीकरण गर्न सकेन भने विगतमा स्मार्टसेलले जस्तै सम्पूर्ण कम्पनी नै राज्यको स्वामित्वमा आउने स्थिति बन्न सक्छ ।