free website hit counter

भड्किला बन्दैछन् चाडपर्वहरु, हराउँदै संस्कृति

beemaadmin
२०८१ भाद्र १५, शनिबार

पुर्खाले बचाएर राखेको संस्कृतिलाई बचाएर पछिल्लो पुस्तालाई पुस्तान्तरण गर्ने दायित्वबाट अहिलेको पुस्ता विचलित भएको छ । सबैजसो चाडपर्वका मौलिकता हराउँदै गएका छन् भने गरिखाने वर्गका लागि चाडपर्व बोझ बन्दै गएका छन् । देखासिकीका नाममा चाडपर्वलाई भड्किलो बनाउने काम अहिले हुने खानेले मात्रै होइन हुँदा खानले पनि बनाउन थालेका छन् ।
मान्छे जतिसुकै आधुनिक भए पनि जन्मजातै लिएर आएको कला र संस्कृति छोड्न सक्दैन । नेपालमा रहेका हिन्दू समुदायले मनाउने तीज पर्वलाई अहिले अन्य जातिले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने गरिन्छ । कामबाट केही समय अवकाश लिँदै परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दैछ । तीजमा गीत–संगीतको विशेष महत्व रहन्छ । महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् ।
पछिल्लो समय धेरै नै भड्किलो बनेको एउटा पर्व हो तीज । महिलाहरुले आफ्नो बेदना साटासाट गर्ने र वर्खा सकेर माइती भेट्ने पर्वलाई अहिले एक डेढ महिनाका लागि भोज भतेरको पर्व बन्दै गएको छ । तीजको दर भनेको ब्रत बस्ने दिनलाई शरीर दह्रो बनाउनलाई राति खाइने परिकार हो । जसमा लट्टे, चाम्रे, खिर, तरकारी, फलफुल लगायतका साकाहारी भोजन पर्दछन् । तर तीज आउन एक डेढ महिना अघिदेखिनै पार्टी प्यालेस, होटल, रेष्टुराँ, पार्क कब्जा गरेर मनाइने तीजले कतै तीजको मर्म त भुलेको छैन भन्ने प्रश्न उठ्न थालेको छ । हिजोआज स्कुल, कलेज, संघ संस्था हरेक ठाउँमा तीजका कार्यक्रम हुने गरेका छन् ।
तीजको अर्को महत्वपूर्ण पक्ष भनेको महिलाका बेदना पोखिने गीत संगीत हो । तर आजभोलि तीजका गीतमा महिलाका बेदना होइन संवेदनशील अंगहरु प्रदर्शन गर्ने गरिन्छ । हरेक चाडपर्वलाई त्यसको मौलिकता अनुसार मनाउँदै लगियो भने त्यसको अर्थ रहन्छ । तर अनेक बहाना बनाएर महिनौ लम्ब्याउन थालियो भने कुनै पनि पर्वको महत्व रहने छैन ।
तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।

सम्बन्धित समाचार