प्रिय योगेशजी,
जुलूस, ऱ्याली, कोणसभा, मार्चपास या दूतावासहरूमा भोजभतेर गरेर पर्यटक भित्ऱ्याउन सकिन्छ भन्ने सोच बदल्नु पर्यो !
विदेश भने पनि एक दुई जना स्थानीय सांसद या मेयर बोलाएर सयपचास नेपालीको बीचमा ‘भव्य’ उद्घाटन, भाषण या जुलूस गरेर भ्रमण वर्ष सफल हुँदैन । नेपालमा झैँ ती मेयरले सरकारी पैसामा विदेश भ्रमण गर्न पाउँदैनन् ।
भ्रमण वर्ष सफल बनाउनु सरकारको मात्र होइन, हामी सबैको कर्तव्य हो । हामीले बीस लाख पर्यटकको लक्ष्य राखेका छौं । १२ लाख पर्यटक त त्यसै पनि आएकै छन् । हाम्रो लक्ष्य आठ लाख थप्नु हो र यो भयङ्कर महत्त्वाकाङ्क्षी या असम्भव लक्ष्य पनि होइन ।
आठ लाख लक्ष्य हो, कति पूरा हुन्छ भन्ने यसै भन्न सकिन्न । आम्दानी भन्दा भ्रमणवर्षका नाममा हाम्रो विदेश भ्रमण, पर्चापम्पलेट र भोजभतेरको खर्च बढ़ी भयो भने त्यो फलदायी हुँदैन ।
अब सिरियस्ली सोचौं र काम गरौँ ।
– अबको एक वर्ष पर्यटन मन्त्री विदेशका दूतावासमा होइन, नेपालकै विभिन्न पर्यटकीय क्षेत्रमा भेटियून् । लामालामा पदयात्रादेखि स्थानीय जात्रासम्म उनी लो प्रोफाइलमा पुगून् । स्थानीय र पर्यटकहरू सँग अनुभव र रायसुझाब सङ्कलन गरून् ।
– आठ लाख पर्यटक कुन बाटो आउँछन् ! हाम्रो सपना धनी देशका हवाइ पर्यटकु हो जस्तो छ । अहिलेकै उडान पनि समय नपाएर आकाशमैं होल्ड हुन्छन् । तिनको सिट क्षमताअनुसार अहिले नै पनि ती प्रायः भरिएर आउँछन् । अब हाम्रो लक्ष्य भेट्न आवश्यक पर्ने हवाइ सिटदेखि एअरपोर्ट ट्राफिक म्यानेजमेन्टसम्मका पूर्वाधारमा पनि त काम गर्न पर्यो । जहाँबाट खालि सिट बढ़ी आउँछन् त्यहाँ प्रचार केन्द्रित गर्न सकिन्छ ।
– बिजनेसको कुनै पनि विद्यार्थीले बताइदिन सक्छ, वस्तु या सेवाको सबैभन्दा ठूलो विज्ञापन उपभोक्ता नै हुन् । नेपाल आउने पर्यटक नै हाम्रो पर्यटनको सबैभन्दा ठूलो विज्ञापन हुन् । बास्तविक पर्यटन-दूत तिनै हुन् । तिनले बोकेर जाने म्यासेजले धेरै ठूलो अर्थ राख्छ । तिनको नेपाल-अनुभव कसरी सुन्दरतम बनाउन सकिन्छ भनेर सोचौं । तिनका कुरा सुनौं ।
– एअरपोर्टको शौचालयदेखि बाटाको धुलो र होटेल या चियापसलमा हुने ठगीसम्म पर्यटकले धेरै कमेन्ट गरेका छन् । सोसल मिडियादेखि ट्रिप एडभाइजरजस्ता पर्यटन साइटमा नेपालसम्बन्धी तितामीठा अनुभव शेयर भएका छन् । तिनलाई लाखौं सम्भावित पर्यटकले पढ्छन् र धारणा बनाउँछन् । एउटा डेस्कलाई तिनमा एपोलोजीसहित उचित रेस्पोंस गर्ने र सम्बन्धित निकायलाई सूचित गर्ने जिम्मा दिन सकिन्छ ।
– भिजिट नेपालको नाममा सबै खाले विदेश भ्रमण तुरुन्तै रोकौं । धेरै देशमा दूतावास र एनआरएन लगायतका संस्था छँदै छन् । बरू ती कर्मचारी खालि र फुर्सदिला छन् भने नेपालकै ठाउँठाउँमा हेल्पडेस्क राख्न सकिन्छ । भ्रमण खर्चले विदेशी पत्रिका या टेलिभिजनमा राम्रा विज्ञापन बजाउन सकिन्छ ।
– नेपाल भ्रमण वर्षले पर्यटकलाई के फाइदा हुने हो रु केके सेवामा तिनले छुट पाउने हो रु किन यही वर्ष भ्रमण गर्नुपर्ने हो रु यसबारे सोचेर कार्यक्रम बनाउनु जरूरी छ । इन्सेन्टिभ कर्मचारीले मात्रै होइन, पर्यटकले पनि त पाउनुपर्यो । केही पनि अफर या इन्सेन्टिभ नभए पर्यटक आकर्षित नहुन सक्छ ।
– नेपालको हवाइ भाड़ा ज्यादै महँगो छ । आन्तरिक हवाइ यात्रा भरपर्दो छैन । कनेक्टिङ् फ्लाइट छ भने त आन्तरिक उड़ानको टिकट नै काट्न डराउनुपर्ने अवस्था छ । कतिको फ्लाइट मिस भएर फेरि टिकट लिनुपरेको तीतो अनुभव पढ्न पाइन्छ । यसमा सुधार गर्न नीतिगत या व्यावहारिक होस्, रातदिन काम गर्न पर्यो ।
– भ्रष्टाचारले पनि पर्यटनमा नराम्रो असर गर्छ । फेक उद्धारका नाममा पर्यटकसँग लाखौं रुपियाँ असुलिने गरेको घटना विदेशी मिडियामा आए । तिनमा यति ग्रुपका हेलिकप्टर कम्पनी मुख्य थिए । सरकारी निकायले कारबाही सिफारिस पनि गर्यो । तर कारबाही त टाढाको कुरा, उल्टै ती पुरस्कृत भए । यस्तो घटनाले देशकै छवि बिग्रिने हुनाले सतर्क र इमान्दार हुनुपर्यो ।
योगेशजी, देशको आशा र सम्भावना हुनुहुन्छ तपाईं । धेरै विकल्प पार्टी या देशभित्र उपलब्ध छैनन् । केही सार्थक र दीर्घाकालीन काम गरौँ । सोचे जति पर्यटक नआउँदैमा भ्रमण वर्ष असफल हुँदैन तर आएकामध्ये केही सयले मात्रै पनि नराम्रो अनुभव शेयर गरे भने धेरै वर्षका लागि हामी असफल हुन्छौं ।
अन्त्यमा के भन्न चाहन्छु भने, अहिले तपाईं अस्ट्रेलियामा हुनुहुन्छ । त्यहाँका प्रधानमन्त्रीले यो भयानक आगलागीप्रति पर्याप्त संवेदनशीलता देखाउन नसकेको आरोपमा त्यहाँका एक सरकारी कर्मचारीले उनीसँग हात मिलाउन अस्वीकार गरे । प्रधानमन्त्रीले दिएको हात फिर्ता गर्नुपर्यो । पक्कै नमज्जा लाग्यो होला तर उनले ‘सरी’ भने ।
उद्देश्य असल नै होला, तर अहिले तपाईंको अस्ट्रेलिया भ्रमण र जुलूस धेरैलाई मन परेको छैन । हाम्रो महाभूकम्पका बेला कुनै देशको मन्त्री उसको पर्यटन प्रबर्धन गर्न नेपाल आएको भए हामीलाई कस्तो लाग्दो हो रु तर तपाईंले ती टिप्पणीलाई विवेकपूर्ण रूपमा लिएर गल्तीबोध गर्नुभन्दा गम्भीर रूपमा नियत खराब भएकाहरूु भन्ने आरोप लगाउनुभएको छ । विनम्रता पनि नेतृत्वमा अत्यावश्यक गुण हो भन्ने स्मरण गराउँदै आगामी दिनका लागि शुभकामना दिन चाहन्छु ।