free website hit counter

ताला खोल्ने क्रममा मोबाइल हानाहान : औद्योगिक क्षेत्र अशान्त

beemaadmin
२०७६ पुष २३, बुधबार

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड विगत ४ दिनदेखि अशान्त बन्न पुगेको छ । लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको निर्देशनमा महाप्रबन्धक सुभाष सिटौलाको कार्यकक्षमा तालबन्दी गर्न लगाएपछि स्थिति तनावपूर्ण बन्दै गएको हो । बुधबार बिहान महाप्रबन्धक सिटौलाको कार्यकक्षमा लगाइएको ताला खोलेर सिटौलालाई कार्यकक्ष प्रवेश गराउन गएका कर्मचारीको प्रयास सफल हुन सकेन । ताला खोल्ने क्रममा कर्मचारीहरुबीच र अध्यक्ष बस्नेतले परिचालन गरेका कर्मचारी र प्रहरी प्रशासनबीच दोहोरो मुठभेड समेत हुन पुगेको बताइएको छ ।

तालाबन्दी खोल्न नदिएपछि आक्रोशित कर्मचारीहरुले अध्यक्ष बस्नेतको कार्यकक्षमा पनि ताला लगाएका थिए । दोहोरो मुठभेडमा मोबाइल हानाहान समेत भएको बताइएको छ । तर अध्यक्ष बस्नेतले भने प्रहरी प्रशासनको सहयोगमा ताला खोले पनि महाप्रबन्धकको कार्यकक्षमा लगाइएको ताला भने यथावत नै छ । अहिले त्यहाँको स्थिति तनावपूर्ण हुन पुगेको नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष देवराज तामाङले बताउनुभयो । थप अशान्त बन्न नदिन सशस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । औद्योगिक क्षेत्रभित्रको अवस्था तनावपूर्ण बन्न पुगेपछि महासंघको अगुवाईमा आजै उद्योग राज्यमन्त्री मोतीलाल दुगडलाई भेट गरी त्यहाँको वस्तुस्थितिको बारेमा अवगत गराएको छ ।

उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पछिल्लो समय देखिएको समस्या समाधान गर्नका लागि उद्योग राज्यमन्त्रीलाई जिम्मा दिएबमोजिम महासंघको अगुवाईमा व्यवसायीहरु राज्यमन्त्रीलाई भेट्न बुधबार सिंहदरबार पुगेका हुन् । व्यवसायीहरुसँगको भेटघाटपति राज्यमन्त्री दुगडले तत्कालै बस्नेतलाई फोन गरी पटकपटक समस्या समाधानका लागि निर्देशन दिए पनि अटेर गरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष आफैं तालाबन्दी गर्ने कार्यमा सहभागी बनेकोमा असन्तुष्टि जनाएका थिए । राज्यमन्त्री दुगडले बिहीबार ११ बजे समस्या समाधान सहितको कार्ययोजना बोकेर मन्त्रालयमा आउन अध्यक्ष बस्नेतलाई निर्देशन दिएका छन् ।

यसअघि व्यवसायीहरुले उद्योगमन्त्रीलाई समेत भेट गरी समस्या समाधानको आग्रह गरेका व्यवसायीहरुले आजको घटनापछि आकस्मिक रुपमा महासंघको बैठक राखेर राज्यमन्त्रीलाई भेट्न मन्त्रालय पुगेका थिए । उद्योगमन्त्री र राज्यमन्त्रीलाई पटक पटक भेट्दा पनि लिमिटेडको समस्या समाधान हुुनुको साटो झन बल्झँदै गएपछि उद्योगीहरु आक्रोशित हुन पुगेका छन् । लिमिटेडभित्रको विवादले गर्दा उद्योगीहरुले पाउनुपर्ने सेवा सुविधा ठप्प हुन पुगेको हुनाले यस्तो अवस्थामा सरकार कहाँ छ भनेर प्रश्न समेत गरेका छन् ।

सम्बन्धित निकायले त्यहाँभित्र भएको समस्या समाधानका लागि दुई चारदिनभित्र पहल नगरे उद्योगीहरुकै अगुवाईमा उद्योगहरुमा तलाबन्दी गरेर व्यवस्थापन लिमिटेडको मुल गेटमै ताला लगाएर साँचो सरकारलाई बुझाउनेसम्मको कडा कार्यक्रम सार्वजनिक गर्ने तयारी उद्योगीहरुले गरेको महासंघका अध्यक्ष तामाङले बताउनुभयो । २२ गते राखिएको व्यवस्थापन लिमिटेडको बोर्ड बैठक अध्यक्ष आफैंले बहिष्कार गरेपछि समस्या झन् चर्किंदै गएको लिमिटेडमा अध्यक्षको कदमविरुद्ध उद्योगी र कर्मचारी एकजुट बन्दै गएका छन् ।

सम्बन्धित समाचार