काठमाडौं । विश्वभर बढिरहेको अशान्तिकै कारण सुनको मूल्यमा दिनदिनै रेकर्ड ब्रेक भइरहेको छ । दशैं पछिको यो साता सुनको मुल्यले एक पछि अर्को नयाँ रेकर्ड कायम गरेको छ । विगत केही समय देखि उचाईतर्फ लागेको मुल्यले गत बुधबार, बिहिबार र पछिल्लो कारोकार भएको दिन शुक्रबार तीनै दिन एक पछि अर्को गर्दै नयाँ उचाई कायम गरेको हो । पछिल्लो साताहरू झै नेपाली बजारमा पनि यो साता सुनको मुल्य नयाँ उचाइमा पुगेको हो । साताको पहिलो र दोस्रो दिन दशैं विदा परेकोले यी दुई दिन कारोबार भएन । तर नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको तेस्रो दिनदेखि भने सुनको मूल्य तोकेको थियो । मंगलबार सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँ रहेको सुनको मुल्य बुधबार उच्च रेकर्डस्तरमा पुग्यो । त्यसदिन, सुन तोलाकै एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, विहिबार पनि नयाँ रेकर्ड राख्दै प्रतितोला एक लाख ६२ हजार ४०० रूपैयाँ पुगेको थियो। तर, शुक्रबार भने सुनको भाउ पुनः ऐतिहासिक उचाइमा पुग्यो । साताको अन्तिम दिन सुन तोलाकै एक लाख ६४ हजार ४०० रूपैयाँमा खरिदबिक्री भयो । यो मुल्य साताको पहिलो कारोबार भएको दिन, मंगलबारको तुलनामा पछिल्लो कारोबार भएको दिन, शुक्रबार तोलामा तीन हजार ९०० रुपैयाँ बढी हो । यस साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढ्यो । साताको पहिलो दिन मंगलबार प्रतितोला एक हजार ९२५ रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला एक हजार ९८० रुपैयाँ कायम भयो । यसरी, यो साता चाँदी तोलामा ५५ रूपैयाँले धेरै हो । विश्व बजारमा शुक्रबार सुन प्रतिअउन्स करिब १७ डलरले बढेको तथ्यांकमा देखिन्छ । त्यस दिन सुन प्रतिअउन्स २ हजार ७११ डलर बराबरमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि त्यो दिन वृद्धि हुँदा ३२ डलर बराबरमा कारोबार भयो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि यसको प्रभाव परेको हो । विश्व परिवेशमा यतिबेला भइरहेको द्वन्द्वको प्रभावका कारण यो साता सुनको भाउमा भारी वृद्धि देखियो ।यसैगरी, अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतिले सुनको मुल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पुर्याएको बिश्लेषकहरुको भनाई छ ।