free website hit counter

पाख्रिबास नगरपालिकाले यसरी मार्दैछ फड्को

beemaadmin
२०७६ पुष २४, बिहीबार

काठमाडौं । प्रदेश नम्बर एक अन्तर्गत धनकुटा जिल्लाको रमणीय स्थानमा रहेको पाख्रीबास नगरपालिकाको मुख्य लक्ष्य पर्यटन र कृषिलाई बनाएको छ । पाख्रिवास नगरपालिकाको पूर्वमा छथर जोरपाटी गाउपालिका र धनकुटा नगरपालिका, पश्चिममा भोजपुर जिल्ला, उत्तरमा महालक्ष्मी नगरपालिका र दक्षिणमा सहिदभुमी गाउपालिका पर्दछ । नगरपालिकाको मुकाम पाख्रीबास बजारको जालपादेबी मन्दिर छेउमा रहेको छ । २०७१ साल मंसिर १६ साबिकका पाख्रीबास, सान्ने, फलाटे, घोर्लीखर्क र मुगालाई समाबेस गरी पाख्रीबास नगरपालिका घोषणा भएको र मिति २०७३ साल फागुन २७ गते पुन चुङवाङ गाबिसलाई समाबेस गरी संघीय शासन ब्यवस्था बमोजिमको पाख्रीबास नगरपालिका घोषणा गरिएको थियो ।

वि.स.२०६८ को जनगणना अनुसार नगरपालिकाको जनसंख्या २२०७८ जना रहेको थियो । मिश्रित जातजातिको बसोबास रहेको सो नगरपालिकालाई कृषि र पर्यटनबाट समृद्ध नगरपालिका बनाउने अभियानअन्तर्गत सक्रियतापूर्वक कार्य भइरहेको नगरपालिकाका प्रमुख बृषबहादुर राईले बताउनुभयो ।

उहाँकाअनुसार, अहिले नगरभित्र भौतिक पूर्वाधारका कामहरूका अलावा कृषि, पर्यटन, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकास र प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरू घोषणा गरेर कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको छ । कतिपय कार्यक्रमहरू सम्पन्न भइसकेका छन् भने कतिपय हुने क्रममा रहेको प्रमुख राईले बताउनुभयो ।

\केन्द्रीय सरकारको सहयोग र नगरपालिकाको समन्वय र सहकार्यमा पाख्रिबास–मुगा–सुनबालुवा (भोजपुर वारी) १८ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य धमाधम भइरहेको र केही समयभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ८५ करोड बजेट विनियोजन भएर करिब ५५ करोडमा टेण्डर बीट भएको उक्त सडक खण्ड पिच भएपछि सो सडक प्रयोग गरी सो भेगका नागरिकहरूलाई आवतजावतमा सहज हुनेछ । सोही सडक खण्ड पुरा भएपछि अरुण नदीमा पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको र २६ महिनाको कार्यादेश बमोजिम काम शुरु भइसकेको र अबको एक वर्षभित्रै सो कार्य सम्पन्न हुने प्रमुख बृषबहादुर राईले बताउनुभयो ।

२२ करोडको टेण्डर प्रक्रियाबाट उक्त पक्की पुल निर्माण भइरहेको र सो पुल निर्माण भएपछि भोजपुरको दक्षिण भेगका नागरिक र खोटाङ जिल्लाका त्यस आसपासका बासिन्दाले लाभ उठाउन सक्ने उहाँको भनाई थियो । त्यस्तै शहरी विकास मन्त्रालयको सहयोगमा निर्माण भइरहेको मुगाखोला उत्तरपानी र वडा नं. १० चुङमाङको ७/७ किलोमिटर सडक खण्ड कालोपत्रे हुने क्रममा छ । यो कार्य समयमै सम्पन्न गर्नका लागि नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गरिरहेको छ । नगरभित्रको ठूलो समस्याको रुपमा खानेपानी रहेको तथ्यलाई आत्मासाथ गरी नगरपालिकाले मुगाखोला राम्चे डाँडामा भुल्के लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

३० करोड लगानीमा सञ्चालन हुन लागेको उक्त आयोजनाका लागि नगरपालिकाले ५ प्रतिशत रकम विनियोजन गरेको छ भने बाँकी केन्द्रीय सरकारको सहयोग हो । उक्त टेण्डर प्रक्रिया फागुन महिनाभित्रै आह्वान गर्ने र यही आर्थिक वर्षबाटै काम शुरु गर्ने तथा दुई वर्षभित्र उक्त आयोजना पूर्ण रुपमा सञ्चालनमा ल्याउने लक्ष्य नगरपालिकाले राखेको छ । बिजुलीको सहयोगमा सञ्चालित हुने यो लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि पाख्रिबास नगरपाभित्रका ९० प्रतिशत खानेपानीको समस्या समाधान हुने र नागरिकहरूले सुविधा पाउने प्रमुख राइले बताउनुभयो ।

नगरपालिकामा स्थानीय जनप्रतिनिधि आएपछि नगरभित्रका समस्याहरू क्रमशः समाधान हुँदै गएको आभाष नगरवासीले गर्न थालेका छन् । सिञ्चाई, खानेपानी, सडक, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता समस्या नागरिकले व्यहोर्दै आएको तथ्यलाई आत्मसाथ गर्दै नगर नेतृत्वले ती समस्या समाधानका लागि आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गर्दै आएको छ । नगरवासीले आफ्नै सुविधासम्पन्न नगरपालिका भवनबाट सेवा सुविधा पाउन् भन्ने कुरालाई मध्यनजर गरेर नगरपालिकाले ४ करोड ५० लाख लागतमा आफ्नै सुविधासम्पन्न नगरभवन बनाउने कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । अहिलेसम्म भवन निर्माणको ७५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम वैशाख महिनाभित्रै पूरा गरी नयाँ वर्षमै नयाँ भवनमा नगरपालिका सार्ने लक्ष्यमा साथ काम भइरहेको नगरप्रमुख राईले बताउनुभयो ।

यसैगरी पर्यटन क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको नगरपालिकाले आफ्नो नगरभित्र भएका पर्यटकीय स्थलहरूको संरक्षण र सम्वद्र्धका लागि महत्वपूर्ण कार्यहरू गर्दै आएको छ । थप पर्यटकीय स्थलहरूको पहिचान गरेर पर्यटकीय नगरी बनाउने लक्ष्य लिएको नगर नेतृत्वले लक्ष्य प्राप्तिको दिशामा अग्रसर रहेको प्रमुख राईको भनाई थियो । मुगाको राम्चेमा भ्यु टावर निर्माण गरी पर्यटकहरूलाई आकर्षित गर्ने योजना नगरनेतृत्वले लिएको छ । त्यस कार्यको लागि २ करोडको लागतमा भ्युटावर निर्माणको कार्य अघि बढाइएकोमा ६० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम पनि केही समयभित्रै पूरा हुने उहाँले दाबी गर्नुभयो ।

सामाजिक सुरक्षाका कार्यक्रमलाई पनि महत्वका साथ अगाडि बढाइएको छ । १० वटै वडाबाट स्वास्थ्य सेवा प्राप्त गर्न नगरवासीलाई सहज होस् भन्ने ध्येयले भएका स्वास्थ्य भवनहरूको स्तरोन्नति गर्ने, सुधारलगायतका कार्यहरूलाई प्राथमिकता दिएको नगरपालिकाले सुत्केरीसँग वडाध्यक्ष कर्णधार कार्यक्रमलाई २ वर्षदेखि निरन्तरता दिइरहेको छ । नगरभित्र सुत्केरी हुने महिलाको घरमै १५ दिनभित्रै सम्बन्धित वडाका जनप्रतिनिधिहरूको नेतृत्वमा स्वास्यकर्मी र वडा सचिव सम्मिलित टोली पुगेर सुत्केरी र बच्चाको स्वास्थ्य परीक्षण गर्नुको साथै बच्चाको जन्मदर्ता गरिदिने र पोषणसम्बन्धी खाद्य सामग्रीका साथमा एउटा भाले निःशुल्क उपलब्ध गराउने नगरको कार्यक्रमले गर्दा सुत्केरीहरू लाभान्वित हुन पुगेका छन् । यो कार्यक्रम पाख्रिबास नगरपालिकामा लोकप्रिय हुन पुगेको छ ।

त्यस्तै वृद्धभत्ता घरघरमै जनप्रतिनिधिमार्फत् उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिँदै आएको नगरपालिकाले कृषिमा युवा आकर्षण वृद्धि गर्नका लागि नेपाल बैंकसँगको सहकार्यमा बिना धितो ऋण उपलब्ध गराउने कार्यक्रमलाई अगाडि बढाउन खोजेको छ । नगरप्रमुख राईले नेपाल बैंकसँग केही दिनभित्रै सम्झौता गर्ने तयारी भइरहेको र सम्झौतापछि उक्त कार्यक्रम लागू हुने बताउँदै त्यसका लागि कार्यविधि निर्माण भइरहेको पनि बताउनुभयो ।

नगरभित्रका ३२ वटै सरकारी विद्यालयको भौतिक पूर्वाधारको सुधार र शिक्षामा गुणस्तर वृद्धिका लागि नगरपालिकाले विशेष ध्यान दिन थालेको छ । सोही कारण अहिले क्रमिक रुपमा सामुदायिक विद्यालयहरूको पठनपाठनमा सुधार हुँदै गएको र परिणाम सन्तोषजनक देखिन थालेको बताइन्छ । पाख्रिबास नगरपालिकाभित्र प्रदेश नं. १ कै पहिलो पाख्रिबास स्रोत व्यवस्थापन कलेज सञ्चालनमा ल्याइएको र अहिले पाँचौं सेमेस्टरको अध्ययन भइरहेको छ । त्यहाँ नगरभित्रका इच्छुक २ जनालाई नगरपालिकाको सिफारिशमा निःशुल्क अध्ययन गराइएको छ । यसले गर्दा नगरभित्रै कृषि अध्ययन गरेका जनशक्तिको वृद्धि हुने र कृषि क्षेत्रमा फड्को मार्ने नगरनेतृत्वले आशा लिएको छ ।

यसैगरी खेलकुदतर्फ नगरपालिकाले विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । दोस्रो मेयरकप फुटबल प्रतियोगिता चाँडै नै हुन लागेको बताउनुभएका प्रमुख राईले खेलकुद क्षेत्रको विकासका लागि सम्भाव्यता अध्ययन भइरहेको र भौतिक पूर्वाधार लगायतका क्षेत्रमा कार्य गर्न नगरपालिका तयाररहेको बताउनभुयो ।

नगरपालिकाको समृद्धिका लागि नगर नेतृत्वलाई कर्मचारी र नगवासीको विशेष साथ सहयोग रहँदै आएको र आगामी दिनमा साथ सहयोग अझै बढ्ने विश्वास नगरनेतृत्वले लिएको छ ।

(नगरप्रमुख राईसँगको कुराकानीमा आधारित)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार