free website hit counter

धितोपत्र बोर्डमा अड्कियो २७ अर्बको आईपीओ

beemaadmin
२०८१ कार्तिक २३, शुक्रबार

काठमाडौं । नियामक निकाय धितोपत्र बोर्ड नेतृत्वविहीन बन्दा २७ अर्बको आईपीओ अड्किएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेवोन लामो समयदेखि नेतृत्वबिहीन हुँदा झण्डै २७ अर्ब रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन अलपत्र परेको छ । आईपीओ निष्काशनका लागि निवेदन दिएका उनीहरुले बोर्डको अध्यक्ष नियुक्ति नहुँदा अनुमति पाउन नसकेका हुन् । बोर्डको पछिल्लो तथ्यांकअनुसार ३४ कम्पनीका १६ करोड ९१ लाख ७८ हजार ८७ कित्ता आईपीओ स्वीकृतीको पखाईमा छन् । त्यसको कुल मूल्य भने २६ अर्ब ९८ करोड ५६ लाख २५ हजार रुपियाँ रहेको छ । अनुमति पाइसकेको रिलाइन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर निष्काशन बोर्ड नेतृत्वविहीन हुँदा अघि बढ्न सकेको छैन् । यसअघिका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि २०८० पुस २० गतेदेखि अध्यक्ष पद रिक्त छ । दश महिनादेखि बोर्डको अध्यक्ष पद रिक्त रहे पनि राजनीतिक खिचातानी र स्वार्थका कारण अध्यक्ष छनोट प्रक्रियाले पूर्णता पाउन सकेको छैन् । हमालको कार्यकाल सकिए लगत्तै नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको थियो । तर त्यसलाई विवादमा पार्ने, मुद्दामामिला गर्ने, विथोल्न प्रयास गर्ने काम हुँदै आएको छ । त्यो विवाद समाधान गरेर सरकारले बोर्डलाई नयाँ नेतृत्व दिन सकेको छैन । अहिले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कामचलाउ अध्यक्षको जिम्मेवारी दिइएको छ । उनी पूर्णक्षमतामा निर्णय गर्नसक्ने हैसियतमा छैनन् । अहिले करिब २७ अर्ब रुपियाँ बराबरको आईपीओ बोर्डमा स्वीकृतिको पखाईमा छ भने शेयर निष्काशन गर्न खोज्ने धेरै कम्पनीले समेत अध्यक्ष नहुँदा निवेदन दिन सकेका छैनन् । स्वीकृतिको पर्खाइमा रहेका फाइलहरुमा अधिकांश जलविद्युत् कम्पनीहरुको आईपीओको रहेको छ । आईपीओ निष्काशनका लागि अनुमति नपाउँदा जलविद्युत् आयोजनाहरुले निर्माणको समयमा लगानी परिचालन गर्न नपाई समस्यामा परेको ऊर्जा व्यवसायीहरुको गुनासो छ । पाइपलाइनमा रहेकामध्ये चार वटा कम्पनीले प्रिमियम मूल्यमै आईपीओ निष्काशन गर्दै छन् । त्यसमा मारुती सिमेन्टले प्रतिकित्ता ३७७ मा एक करोड १६ लाख कित्ता शेयर बिक्री गर्दैछ । त्यसको कुल मूल्य चार अर्ब ३७ करोड ३२ लाख रुपियाँ छ । यस्तै, जगदम्बा स्टिलले प्रतिकित्ता तीन सय रुपियाँमा दुई करोड ७० हजार कित्ता आईपीओ बिक्री गर्दैछ । त्यसको कुल मूल्य छ अर्ब दुई करोड १० हजार रुपियाँ रहेको छ । यसैगरि, ह्याम्स हस्पिटलले प्रतिकित्ता २८८ रुपियाँमा ११ लाख २५ हजार कित्ता शेयर बिक्री गर्दैछ । त्यसको कुल मूल्य ३२ करोड ४० लाख रुपियाँ रहेको छ । सौर्य सिमेन्टले प्रतिकित्ता २६४।५१ रुपियाँमा एक करोड ५९ लाख ८१ हजार पाँच सय कित्ता शेयर बिक्री गर्दैछ । त्यसको कुल मूल्य चार अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपियाँ रहेको छ । यी बाहेक अन्य ३० कम्पनीले किताबी मूल्य अर्थात् प्रतिकिक्ता १०० रुपियाँमै शेयर बिक्री गर्ने गरि आवेदन दिएका छन् । रिलायन्सले बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ मूल्यमा आईपीओ निष्काशन अघि बढाएको छ । सो निष्काशनविरुद्ध परेका सबै उजुरीहरुबाट रिलायन्सले ‘क्लिन चिट’ पाए पनि बोर्डको प्रक्रिया अघि बढाउन निर्णय गर्न सकेको छैन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार