free website hit counter

धितोपत्र बोर्ड अध्यक्षका लागि आज अन्तर्वार्ता, दुई जना मात्रै उपस्थित

beemaadmin
२०८१ मंसिर ९, आईतवार

काठमाडौं । राजनीतिक भागवण्डाको शिकार बनेको नेपाल धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता सुरु भएको छ । आइतबार बिहान सिंहदरबारमा उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति सुरु भएको छ । दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित भएका छन् । अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं भने अनुपस्थित रहेको स्रोतले जनाएको छ । अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुनसकेको थिएन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् । अब अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुत गरेका चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ । तीमध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ । असोज १८ गते बोलाइएको अन्तर्वार्तामा सिफारिस समितिका संयोजक अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ । यसअघि सर्टलिस्टमा परेका दुई जनाले मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेपछि सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । ऐनअनुसार सर्टलिस्टमा परेका पाँचमध्ये कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने हुन्छ । नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न समितिका तिनै सदस्य रहनेगरी अर्को सिफारिस समिति बनाएको थियो । सर्टलिस्टमा परेका एक उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिंदै माघ ३० गतेका लागि पेशी तोकेको छ । यद्यपि पुरानै प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्तिका लागि बाटो खुला रहेपछि सरकारले तीन जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न बोलाएको हो ।

सम्बन्धित समाचार