काठमाडौं । मुलुकको अर्थतन्त्र चलायमान हुन सकेको छैन । अधिक तरलताको अवस्थामा पनि चालु आर्थिक बर्ष २०८१–८२ पाँच महिनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) १५.४५ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त मंसिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत आवको मंसिर मसान्तसम्ममा १० अर्ब ९८ करोड ४१ लाख ४७ हजार प्रथम बीमाशुल्क संकलन भएको थियो । चालु आवको मंसिर मसान्तसम्म भने यस्तो बीमाशुल्क संकलन १२ अर्ब ६८ करोड १९ लाख रुपियाँ रहेको छ । हाल नेपालमा १४ ठूला र तीन लघु गरेर १७ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । समीक्षा अवधीमा उनीहरुको कू ल बीमाशुल्क संकलन भने ७.१० प्रतिशतले बढेको छ । गत आवको पहिलो पाँच महिनामा उनीहरुले ६१ अर्ब १४ करोड ५३ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका थिए । यसपाली पाँच महिनामा ६६ अर्ब १४ करोड ५३ लाख रुपियाँ बीमाशुल्क संकलन भएको छ । त्यसमा ठूला कम्पनीले ६५ अर्ब ७४ करोड १८ लाख रुपियाँ र लघुबीमा ४० करोड ३४ लाख रुपियाँ संकलन गरेका छन् ।
समीक्षा अवधिमा नयाँ व्यवसाय गर्ने मामिलामा नेपाल लाइफ अग्रस्थानमा देखिएको छ । पाँच महिनामा उक्त कम्पनीले तीन अर्ब २१ करोड १३ लाख रुपियाँ संकलन गरेको छ । यसैगरी दोस्रो नम्बरमा नेशनल लाइफ रहेको छ, उक्त कम्पनीले एक अर्ब ८८ करोड ७९ लाख रुपियाँ बराबरको नयाँ व्यवसाय गरेको छ । तेस्रो स्थानमा भने एलआईसी नेपाल रहेको छ, उक्त कम्पनीले पाँच महिनामा एक अर्ब दुई करोड ७० लाख रुपियाँ बराबरको नयाँ व्यवसाय गरेको छ । यसैगरी हिमालयन लाइफले ९४ करोड दुई लाख, सुर्यज्योति लाइफले ९२ करोड ६४ लाख, सिटिजन लाइफले ७० करोड चार लाख, एशियन लाइफले ५८ करोड ४० लाख, सानिमा लाइफले ५८ करोड ३५ लाख, मेट लाइफले ५० करोड ४७ लाख र रिलायवल नेपाल लाइफले ४८ करोड ९३ लाख रुपियाँ बराबरको नयाँ व्यवसाय गरेको छ । यसैगरी प्रभुले ४३ करोड पाँच लाख, आईएमई लाइफले ४२ करोड आठ लाख, राष्ट्रिय जीवन बीमाले ४१ करोड ४६ लाख, र सन नेपाल लाइफले ३४ करोड ८९ लाख ९४ हजार रुपियाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । यसैगरी लघुबीमा गार्डियन माइक्रोले नौ करोड २१ लाख, क्रेष्ट माइक्रो लाइफले आठ करोड ४० लाख र लिवट्री माइक्रोले तीन करोड ५५ लाख रुपियाँ बराबरको नयाँ व्यवसाय गरेका छन् ।