free website hit counter

शिक्षक आन्दोलन, परीक्षाफल ढिलाइ र राष्ट्रको भविष्य

beemaadmin
२०८२ बैशाख ४, बिहीबार

शिक्षक केवल पाठ सिकाउने पात्र होइनन्, राष्ट्र निर्माणका मूर्धन्य शिल्पी हुन्। तर आज उनीहरू आफ्ना न्यूनतम माग र अधिकारका लागि आन्दोलनमा छन्—सडकमा छन्। नेतृत्वले समयमै गम्भीर ध्यान नदिँदा शिक्षक आन्दोलनले व्यापक असर पारिरहेको छ, विशेषतः एसईई परीक्षाको उत्तरपुस्तिका मूल्यांकनमा। मूल्यांकन ढिलाइ हुने हो भने परीक्षाफल (रीजल्ट) समयमा नआउने निश्चितजस्तै छ। यसले लाखौं,हजारौं विद्यार्थीहरूलाई उच्च शिक्षाको तयारीमा अन्योलमा पार्नेछ। कतिपयको विदेश अध्ययनको प्रक्रिया अवरुद्ध हुनेछ भने, केही परिवारहरू हतारमा आफ्ना छोराछोरीलाई ११–१२ पढ्नकै लागि विदेश पठाउन बाध्य हुने अवस्था आउन सक्छ।

पहिले नै नेपालको शिक्षा प्रणालीप्रति विश्वास गुमाउँदै गएका अभिभावकहरू अझै निराश हुनेछन्। पछिल्लो दशकमा करिब चार लाख नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश गइसकेका छन्। प्रत्येक वर्ष ६० अर्ब रुपैयाँभन्दा बढी रकम शिक्षाको नाममा देशबाहिरिन्छ। अब माध्यमिक तहकै विद्यार्थीहरू पनि विदेशिन थाले भने देशको भविष्य र अर्थतन्त्र दुवै संकटमा पर्न सक्छ।

यस्ता अवस्थाहरू केवल शिक्षा प्रणालीमाथिको असन्तोष होइन, शासनप्रणालीप्रतिको गहिरो अविश्वासका संकेत हुन्। यही असन्तुष्टिको वातावरणमा ‘घण्टी’, ‘त्रिशूल’, ‘डम्बरू’जस्ता वैकल्पिक राजनीतिक शक्तिहरू जन्मिन थालेका छन्। यी शक्तिहरू चेतावनी हुन्—यदि सरकार अझै घमण्ड, अकर्मण्यता र उदासीनता देखाइरह्यो भने, केवल शिक्षा प्रणाली होइन, समग्र लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्न सक्छ। समाधान गर्न ढिलो भयो भने समस्याले गहिरो रूप लिन्छ। शिक्षक आन्दोलनको समाधान संवाद र सम्मानबाट हुनुपर्छ, दबाब र ढिलाइबाट होइन। शिक्षा बचाउनु भनेको राष्ट्रको भविष्य जोगाउनु हो—यसमा अब पनि गम्भीर भएर नसोच्ने हो भने इतिहासले क्षमा गर्ने छैन।

(लेखक: लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका विषयमा कलम चलाउने अभियन्ता )

सम्बन्धित समाचार